

मिल्यो मुख्यमन्त्रीको भागबन्डा, एमाले ४, माओवादी २ र मधेसमा जसपा र जनमत

काठमाडौं- सत्तारुढ गठबन्धनमा प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने गरी भागबन्डा मिलाइएको छ ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमाले ४, माओवादी केन्द्र २ र मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति गरेको हो । तर, प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णालीमा भने आलोपालो हुने छैन ।
सहमतिअनुसार एमालेले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाउने भएको छ ।
त्यसैगरी माओवादी केन्द्रले वाग्मती र कर्णाली प्रदेशको नेतृत्व पाउने छ । सुदूरपश्चिममा पहिलो चरणमा एमाले र दोस्रो चरणमा माओवादीले पाउने छ । प्रदेश १ को मुख्यमन्त्री एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।
त्यसैगरी वाग्मतीमा माओवादी केन्द्र शालिकराम जम्कट्टेल, गण्डकीमा एमालेका खगराज अधिकारी, लुम्बिनीमा एमालेका लिला गिरी, कर्णालीमा माओवादी राजकुमार शर्मा र सुदूरपश्चिममा एमालेका राजेन्द्रबहादुर रावल संसदीय दलका नेता छन् ।
वाग्मती प्रदेशमा एमालेका जगन्नाथ थपलिया, कर्णालीमा एमाले यमलाल कँडेल र सुदूरपश्चिममा माओवादी केन्द्रका खगराज भट्ट संसदीय दलका नेता छन् । त्यसैगरी मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो नेतृत्व गर्नेछन् । -कान्तिपुर

