सत्ता गठबन्धन बैठक – संसदका सबै दलसँग विश्वासको मत माग्ने निर्णय


काठमाडौं – सत्ता गठबन्धनका दलको बैठकले संसदका सबै दलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत माग्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको बैठकले संसदका सबै दलसँग विश्वासको मत माग्ने निणर्य गरेको हो।

साथै सरकार सञ्चालनका लागि साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने निणर्य भएको छ। न्यूनतम साझा कार्यक्रमलाई छिटै औपचारिक रूपमा सार्वजनिक गरिने भएको छ। बैठकमा सत्ता साझेदार दलबीच संघीय र प्रादेशिक तहमा सत्ता साझेदारीको प्याकेजका बारेमा समेत छलफल भएको छ।

सत्ता साझेदारीका बारेमा मूलभूत रूपमा सहमति जुटेको र शीर्ष तहमा समझदारी कायम गरी छिटै सार्वजनिक गर्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रादेशिक तहमा प्याकेजमा समझदारी गर्ने क्रममा मुख्यमन्त्री चयनमा मोटामोटी सहमति जुटेको छ। प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतबहादुर कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन्। अब बाँकी प्रदेशका मुख्यमन्त्रीका विषयमा पनि एकल र आलोपालो चलाउने समझदारी भएको छ।

जसमा मधेस प्रदेशको मुख्यमन्त्री जसपा र जनमत पार्टीले आलोपालो रुपमा चलाउने, बागमती र सुदूरपश्चिमको मुख्यमन्त्री नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आलोपालो चलाउने, गण्डकी र लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेकपा एमालेले पाउने र कर्णाली प्रदेशको मुख्यमन्त्री नेकपा माओवादी केन्द्रले पाउने गरी समझदारी भएको छ। यो समझदारीलाई पूर्णता दिन बाँकी रहेको बताइएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी थिए।

प्रतिक्रिया