

प्रचण्डलाई विश्वासको मत दिन सत्ता साझेदार दललाई रास्वपाको आग्रह

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन अन्य दललाई आग्रह गरेको छ। पार्टीको सिंहदरबारमा बसेको आइतबारको बैठकले सत्ता गठबन्धनलाई बलियो बनाउँदै सरकार सञ्चालन गर्न प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुपर्ने निष्कर्ष निकाल्दै साझेदार दललाई पनि विश्वासको मत दिन आग्रह गर्ने निर्णय गरेको हो।
गठबन्धन सरकारलाई थप मजबुद बनाउन र जनअपेक्षा अनुसार काम गर्न वर्तमान सरकारलाई बलियो बनाउनपर्ने निष्कर्ष निकाल्दै प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय गरिएको सांसद सन्तोष परियारले जानकारी दिए। बैठकमा पार्टीका महामन्त्री मुलुक ढकालले सरकारको न्युनतम साझा कार्यक्रमका बारे जानकारी गराएका थिए।
साझा कार्यक्रममा समावेश रास्वपाका मुद्दालाई कसरी कार्यान्वयन गराउने भन्ने बारेमा पनि छलफल भएको सांसद परियारले बताए। बैठकमा पार्टी सभापति रवि लामिछानेले देशको पछिल्लो राजनीतिक घटनाक्रम, सरकारले गरिरहेका काम, सत्ता साझेदार दलसँग भइरहेका छलफलबारे जानकारी गराएका थिए।

