

महाकाली नदीको तुइनबाट खसेर १० वर्षीय बालक बेपत्ता

दार्चुला — महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बालक बेपत्ता भएका छन् ।
दार्चुलाको ब्यास गाउँपालिका–४ को डोकटका १० वर्षीय बालक दिपेन्द्र बिष्ट तुइनबाट नदी तर्ने क्रममा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बालक बिहीबार बिहान तुइनबाट तर्ने क्रममा बेपत्ता भए पनि शनिबार मात्र खबर प्राप्त भएको जानकारी दिए । बालक हराएको खबर पाउनासाथ स्थानीय प्रहरी टोली खोजीमा खटिएको बताएका छन् ।
मगरका अनुसार बिहीबार बिहान दिपेन्द्रकी आमा तुइनमार्फत खर काट्न भारतीय जंगलमा पुगेकी थिइन् । दिपेन्द्र पनि उनीसँगै जाने क्रममा तुइनबाट खसेर बेपत्ता भएको जनाइएको छ ।
बालक ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।

