


राहदानी विभागको सफ्टवेयर मर्मत गर्न विज्ञ टोली नेपाल आउँदै

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ।
त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गरेपछि प्रधानमन्त्री कार्यालयले तत्परता लिँदै सफ्टवेयर र प्रणालीको अनुगमन र निरीक्षण गरेपछि कम्पनीले आफ्ना विशेषज्ञ पठाएको हो।
बुधबार प्रधानमन्त्री कार्यालयले विभागमा प्राविधिक टोली पठाएको थियो। हिजो भएको छलफल अनुसार बिहीबार पुनः टोलीले विभागका जिम्मेवार पदाधिकारी तथा कम्पनीका नेपालस्थित प्रतिनिधिसँग छलफल सुरु गरेका हुन्।
प्रधानमन्त्री कार्यालयबाट डाटावेश विशेषज्ञ, प्रोग्राम एक्सपर्ट, मन्त्रालयका सूचना तथा प्रविधि शाखाका उच्चपदस्थ कर्मचारीलगायतले त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेर प्राविधिक अध्ययन गरेका थिए।
टोलीले सफ्टवेयरमा देखिएको समस्या पहिचान गर्ने प्रणाली र प्रक्रिया के कस्तो छ भन्ने कुरा प्राविधिकरुपमा पहिचान गर्न आवश्यक अवलोकन गरेको थियो। त्यसलगत्तै कम्पनीको चीनमा रहेको मुख्यालयका प्राविधिकहरूसँग प्रधानमन्त्री कार्यालयको टोलीले हालः देखिएको समस्याका बारेमा कन्फ्रेन्स कलमार्फत् कुराकानी गरेको थियो।

