


ट्रम्पकाे साथ छाेड्दै महाभियोगको मुद्दामा बहस गर्ने ५ वकिल !

न्युयोर्क – महाभियोगसम्बन्धी सिनेट ट्रायलका लागि दुई साताभन्दा कम समय बाँकी रहँदा ट्रम्पका तर्फबाट बहस गर्ने उनको कानुनी टोलीका ५ वकिल बाहिरिएको सीएनएनले जनाएको छ । यस मुद्दामा आफूलाई कानुनी रुपमा प्रतिनिधित्व गर्ने वकिल खोज्न पहिले नै संघर्षरत रहेका ट्रम्पका लागि यो अर्को झट्का भएको पनि बताइएको छ ।
यसअघि ट्रम्पको टोलीमा प्रमुख वकिलका रुपमा सहभागी हुने अपेक्षा गरिएको बुच बोवर्स र डेब्रोआ बार्बिअर अहिले उनको साथमा छैनन् । यसबारे परिचित एक स्रोतले बताएअनुसार दुवै पक्षले संयुक्त रुपमा ट्रम्पको समूह छाड्ने निर्णय गरेका हुन् । कोलम्बियाका प्रतिष्ठिन वकिल बोवर्स कुनै समय पूर्वराष्ट्रपति जर्ज डब्लू बुस नेतृत्वको न्याय विभागमा काम गर्थे भने क्यारोलिनाका वकिल बार्बिअरले चाहिँ थुप्रै हाई-प्रोफाइल मुद्दामा काम गरिसकेका छन् ।
त्यस्तै अर्का नर्थ क्यारोलिनाका वकिल जोस हावर्ड ट्रम्प मुद्दामा उनको बचाउका लागि संलग्न हुने भनिएको थियो जो पनि यसबाट अहिले बाहिरिसकेको बताइएको छ । यसबाहेक अन्य दुई वकिल जोनी ग्यासर र ग्रेग ह्यारिसले पनि ट्रम्प मुद्दाबाट आफ्नो संलग्नता हटाइसकेका छन् ।
यी घटनाहरुबारे जानकार रहेका व्यक्तिले सिएनएनलाई बताएअनुसार ट्रम्प यस मुद्दामा आफ्ना वकिलहरुलाई ठूलो स्तरमा निर्वाचनमा धाँधली भएको पक्षमा बहस गराउन चाहन्थे र आफ्नोतर्फका कानुनी टोलीले यसबारे गरिरहेको छलफलप्रति सन्तुष्ट थिएनन् । हाल बाहिरिएका कुनै पनि वकिलहरुलाई पूर्वभुक्तानी भने गरिएको थिएन ।
यससम्बन्धी ट्रम्प अभियानका सल्लाहकार जेसन मिलरले सीएनएनसँग भनेका हुन्, ‘कार्यकालबाट बाहिरिइसकेका राष्ट्रपतिमाथि महाअभियोग लगाउने डेमोक्रेट्सहरुको प्रयास पूर्ण रुपमा असंवैधानिक छ र हाम्रो देशका लागि पनि राम्रो हुनेछैन । अहिले हामीले ट्रम्पतर्फको कानुनी टोलीबारे अन्तिम निर्णय लिइसकेका छैनौं तर यो छिटै तयार हुनेछ ।’
दुईपटक महाअभियोग लाग्ने अमेरिकी इतिहासकै पहिलो राष्ट्रपति ट्रम्प आगामी फेब्रुअरी ९ का दिन सिनेटहरुका सामु ट्रायलमा उपस्थित हुँदै छन् । उनी दोषी ठहरिए अमेरिकाको कुनै पनि निर्वाचित पदका लागि अब कहिल्यै लड्न पाउनेछैनन् । यसअघि संसद् भवनमा भएको हमलालाई लिएर प्रतिनिधि सदनले हिंसालाई प्रोत्साहन गरेको आरोपमा उनीमाथि महाअभियोगको मुद्दा अघि बढाएको थियो ।
तर सिनेट ट्रायलमा ट्रम्पलाई आधिकारिक रुपमा दोषी ठहर गर्नका लागि दुईतिहाइको बहुमत आवश्यक पर्नेछ जसको अर्थ १७ जना रिपब्लिकन पनि यसको पक्षमा हुनुपर्ने हुन्छ । यसबारे न्युयोर्क टाइम्सले गरेको रिपोर्टअनुसार अहिलेसम्म ट्रम्पमाथि महाअभियोग जारी गर्ने पक्षमा २० भन्दा धेरै सिनेटहरु रहेको पाइएको छ । यसकारण पनि ट्रम्प पक्ष बलियो कानुनी टोली निर्माण गर्नमा निरन्तर लागिपरेको छ ।

