

आगाेले जलेर ‘महामुखिया’का छोरा शाही गम्भीर घाइते

दैलेख – राउटेका महामुखिया मैनबहादुर शाहीका ४० वर्षीय छोरा नारायण शाही आगोमा जलेर घाइते भएका छन्। दैलेख सदरमुकामको नारायण नगरपालिका-८ सिमाडामा बसोवास गरेका राउटे समुदायका युवा शाही चिसो छल्न आगोनजिक सुतेको अवस्थामा जलेका हुन्।
चुलोमा आगो बालेरै सुतेको र सिरक हुँदै आगो शरीरभरि सल्किएपछि उनी घाइते भएका छन्। अहिले उनलाई स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचारका लागि ल्याइएको राउटे समुदायमा काम गर्ने शिक्षक लालबहादुर खत्रीले जानकारी दिएका छन्।
चिसोका कारण राति दाउरा बालेर उनीसहित अन्य चारजना सुतेका थिए। अन्य परिवारलाई भने केही भएको छैन। स्वास्थ्य सेवा कार्यालयका अनुसार, ‘शरीरको ३० प्रतिशत भाग जलेको छ। प्राथमिक उपचारपछि उनलाई सुर्खेत रिफर गर्ने तयारी भएको छ ।’
कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय अहिले दैलेखको नारायण नगरपालिका– ८ साल खर्कमा बसोवास गरिरहेका छन्। हाल उनीहरूको जनसंख्या एक सय ४३ छ।

