असई हत्या आशंकामा दुई पक्राउ, साउदको अवस्था अझै अज्ञात


कैलाली – धनगढीमा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिकको हत्या प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरिक्षक बिकको हत्यामा संलग्न भएको आशंकामा थप २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

यसअघि आइतबार प्रहरीले जुगेडा क्षेत्रबाट हत्यामा संलग्न भएको आशंकामा ११ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । शनिबार साँझ नियमित गस्तीमा निस्केका बेला वेपत्ता भएका प्रहरी सहायक निरिक्षक बिकको शव नेपाल–भारत सीमा स्थित मोहना नदीमा घाँटी रेटिएको अवस्थामा आईतबार बिहान भेटिएको थियो। उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

बिकसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया