

ओलीको टिप्पणी : जसलाई भोट मागेँ ऊ नै कुहिएको आलु निस्किए

चितवन – प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कुहिएको आलुको संज्ञा दिएका छन्। भरतपुरमा आफू पक्षीय नेकपाको जनसभालाई सम्बोधन गर्दै ओलीले प्रचण्डमाथि आक्रोश पोखेका हुन्।
उनले २०७४ को निर्वाचनका क्रममा चितवनको पर्यटकीय केन्द्र माडी पुगेर त्यो ठाउँलाई मणि बनाउँछु भनेको स्मरण गरे। त्यसबेला ओलीले प्रचण्डलाई भोट माग्दै उक्त कुरा बोलेका थिए।
‘चितवनको सुन्दर भूमि माडीलाई मणि बनाउँछु भनेको थिएँ,’ उनले भने, ‘तर जसका लागि भोट मागेँ ऊ नै कुहिएको आलु निस्किएपछि कसरी माडी मणि बनोस् त ! ’
ओलीले आफू सहभागी कार्यक्रममा चितवनका विघटित प्रतिनिधिसभाका सांसद र भरतपुर महानगरपालिकाका मेयर समेत नआएको भन्दै कटाक्ष गरे । उनले मेयर रेणु दाहाल कार्यक्रममा नआएर पिकनिक खान गएको भन्दै आक्रोश पोखे ।
तीन प्रधानमन्त्री लौरोको भरमा
प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना पूर्वप्रधानमन्त्री आफ्नो विरुद्ध देशभर ‘टुकुटुकु लौरो टेकेर’ हिँडिरहेको भन्दै व्यङ्ग्य गरेका छन् । बुढेशकालमा अर्थहीन ढंगले पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल हिँडिरहेको उनको भनाइ थियो । ओलीको ‘प्रतिगामी कदम’ को विरोधमा प्रचण्ड–नेपाल समूहले देशभर अभियान सञ्चालन गरिरहेके बेला ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
ओलीले भने, ‘तीन वटा प्रधानमन्त्री (पूर्वप्रधानमन्त्री) लौरो टेकेर लुखुरलुखुर हिँड्नु भएको छ, देशभरी लाइन लागेर हिँडुनु भएको छ बुढेशकालमा ।’ ‘उहाँहरुको उद्देश्य राम्रो भएको भए स्वागत गर्न मिल्थ्यो । तर पार्टी ध्वस्त पार्ने र देश बर्बाद गर्ने मनसाय उहाँहरुमा छ’, उनले थपे ।

