बहुमतको सरकार चल्न नसके नयाँ चुनाव सर्वमान्य प्रजातान्त्रिक अभ्यासः थापा


काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले बहुमतको सरकार चल्न नसके नयाँ चुनाव सर्वमान्य प्रजातान्त्रिक अभ्यास रहेको जनाएका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटसमा छोटो विचार प्रस्तुत गर्दै उनले लेखेका छन्,‘संसद विघटनले भन्दा पुनस्थापनाले अस्थिरता ल्याउँछ। चुनाबमा पूर्णबहुमत प्राप्त दल फुटाएर, सांसद किनबेच गरेर, अपवित्र गठबन्धन बनाएर, सरकार बनाउ र अस्थिरताको श्रृंखला चलाउ भन्ने संविधानको आशय कदापी होइन। बहुमतको सरकार चल्न नसके नयाँ चुनाव सर्वमान्य प्रजातान्त्रिक अभ्यास हो।’

उनले केपी ओलीको असफलता र अकर्मण्यताबाट मुक्त हुन पनि ताजा जनादेश उपयुक्त हुने जनाएका छन्। थापाले हामीले गरेको निर्वाचनको समर्थन केपी ओली र सरकारको नभइ संसदीय प्रजातन्त्र र संवैधानिक मूल्य मान्यताप्रतिको विश्वासको अभिव्यक्ति भएको जनाएका छन्।

उनले लेखेका छन्,‘बहुमत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नेबारे संविधानमा केहि अस्पष्ट छ, त्यसको निराकरण सर्वाेच्च अदालतले गर्छ । यसमा व्याख्याको जरुरी छ । संसदीय प्रजातन्त्र भएको देशमा ताजा जनादेशमा जाने निर्णय स्वभाविक हो।’

निहित स्वार्थको निम्ति करोडौं खर्च गरेर शक्ति प्रदर्शनको नाममा अदालतलाई धम्क्याउने र अस्थिरता सृजना गर्ने कार्यले  संविधान र प्रजातन्त्रलाई कमजोर बनाउने उल्लेख गर्दे थापाले  सर्वोच्च अदालत र निर्वाचन आयोगले निर्णय गर्न ढिलो हुँदा राजनीतिक दल र नेताहरू नियन्त्रणबाट परिस्थिति बाहिर जाने खतरा बढेको राप्रपा अध्यक्ष थापाको भनाई छ।

प्रतिक्रिया