

निर्वाचन आयोगले भन्योः नेकपाको कुनै समूहलाई आधिकारिकता दिइएको छैन

काठमाडौं – निर्वाचन आयोगले सत्तारुढ नेकपाका दुवै समूहलाई कुनै किसिमको आधिकारिकता नदिएको जनाएको छ। निर्वाचन आयोगले राजनीतिक रूपमा विभाजित नेकपाका कुनै पनि पक्षले आधिकारिकता दाबी नगरेकाले कसैलाई आधिकारिक भन्न नमिल्ने जनाएको छ ।
शुक्रबार नेताहरूसंगको अनौपचारिक छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आयुक्त ईश्वरी पौडेलले आयोगले कुन पक्ष आधिकारिक हो भनेर निर्णय गरिनसकेको बताएका छन् ।
‘आधिकारिक कुन पक्ष हो भनेर निर्णय गरिसकेको अवस्था होइन,’ आयुक्त पौडेलले भने, ‘हामीलाई आधिकारिकता देऊ भनेर कुनै पनि गुट नआएको हुँदा हामीले आधिकारिकता दिने कुरै आएन ।’
‘राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार हामीले गरेको निर्णय अभिलेखीकरण गरिदिनुस् भनेर दुवै पक्षबाट पत्र आएको थियो,’ आयुक्त पौडेलले भने, ‘पुस ५ गतेभन्दा पहिले पेश गरेको विधान र ७५ जेठ ३ गते जे विवरण थिए, ती सही छन् र बाँकी अपडेट गर्न सक्दैनौं भनेर हामीले भनिदिएको मात्र हो ।’
आधिकारिकताकै सवालमा सञ्चारकर्मीलाई प्रतिप्रश्न गर्दै आयुक्त पौडेलले भने – ‘आयोगले पार्टी फुटाउने हो र ?’ कुनै एउटा पक्षले आफूलाई आधिकारिक दाबी गर्दैमा त्यो कानून, विधान र संविधानसम्मत नहुने आयुक्त पौडेलको भनाइ थियो ।
आयुक्त पौडेलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न केही दिनमै सूचना निकाल्ने तयारीमा आयोग रहेको प्रस्ट पारे ।
‘त्यही प्रयोजनका लागि सत्तासीन सबैभन्दा ठूलो दल नेकपासँग छलफल गर्न खोजेका थियौं,’ पौडेलले भने, ‘एउटा पक्षले अध्यक्ष बाहिर भएकाले हामी अहिले उपस्थित हुन सकेनौं भनेको अवस्था छ । उहाँहरूले १८ गतेपछि छलफल गर्ने कुरा गर्नुभयो । अर्को पक्षसँग भने हामीले अनौपचारिक छलफल गर्यौं ।’
उनले आयोग निर्वाचनको तयारीका लागि पूर्ण रूपमा लागेको बताए । ‘हामी पूर्ण रूपमा निर्वाचनमा लागेका छौं । निर्वाचन सम्पन्न गर्ने हाम्रो संवैधानिक दायित्व पनि हो । अहिलेचाहिँ ठूलो पार्टी भएकाले नेकपालाई छलफलमा बोलाएका हौँ ।’

