

प्रदेश १ का सांसदको शपथ ग्रहण ११ गते

विराटनगर – प्रदेश १ प्रदेशसभाका नवनिर्वाचित प्रदेश सांसदहरुको शपथग्रहण पुस ११ गते सोमबार हुने भएको छ ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले मंगलबार एक सूचना प्रकाशित गरी शपथग्रहणका लागि उपस्थित हुन सबै सांसदहरुलाई अनुरोध गरेका छन् ।
शपथग्रहण प्रदेशसभा सचिवालय प्रदेश १ विराटनगरमा साढे १ बजे हुने सचिवालयले जनाएको छ ।
नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि प्रदेश कानुन बमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ र प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिम जेष्ठ सदस्य गयानन्द मण्डलले प्रदेशसभाको अध्यक्षता गर्नेछन् ।
मण्डलले पनि सोही दिन साढे १२ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गर्ने कार्यक्रम छ । प्रदेशसभाका अन्य सदस्यहरुलाई मण्डलले शपथग्रहण गराउनेछन् ।

