सोसल मिडिया टिकटकको कारोबार भारतमा किन बन्द हुदैछ?


काठमाडौं – टिकटक र हेलो एप्सको स्वामित्व रहेको चिनियाँ सोसल मिडिया फर्म बाइडेन्सले भारतसँगको व्यापार बन्द गर्ने घोषणा गरेको छ । पछिल्लो केही समयदेखि भारतीय सरकारले टिकटकमा निरन्तर प्रतिबन्ध लगाएपछि बाइडेन्सले यस्तो निर्णय लिएको हो ।

टिकटकको विश्वव्यापी अन्तरिम प्रमुख भनेसा पप्पस र ग्लोबल बिजनेस सोलुसनका उपाध्यक्ष ब्लेक च्यान्डलीले कर्मचारीहरुलाई पठाएको संयुक्त इमेलमा कम्पनीले टिम संख्या घटाउन लागेको र त्यसको प्रत्यक्ष असर भारतका कर्मचारीहरुलाई पर्ने उल्लेख गरिएको छ ।

अधिकारीहरुले भारतसँगको पुनः सहकार्यमा अनिश्चितता व्यक्त गरेता पनि पुनः सहकार्य गर्ने इच्छा भने व्यक्त गरेका छन् । ‘हामी भारतमा फेरि कहिले फर्कन्छौँ भन्ने निश्चित नभए पनि भविष्यमा पुनः फर्कने इच्छा भने छ,’ इमेलमा उल्लेख गरिएको छ ।

बाइडेन्सका एक अधिकारीले कम्पनीले बुधबार एउट सभाको आयोजना गर्दै भारतमा कारोबार बन्द गर्ने सूचना जारी गरेको बताएका हुन् । भारत सरकारले जुन २०२० देखि ५९ अन्य एपसहित टिकटक र हेलो भारतमा प्रतिबन्ध लगाएको थियो । गएको सेप्टेम्बरमा यसको संख्या बढाएर अन्य ११८ एप प्रयोगमा पनि रोक लगाएको थियो ।

आदेश पालना गरेर टिकटक र हेलोलाई स्थानीय कानुन र नियमभित्र रहेर परिमार्जित गर्ने प्रयास जारी राख्दा पनि भारत सरकारबाट कुनै सकारात्मक उत्तर नआएको टिकटकका एक प्रवक्ताले गुनासो पोखे । विगत ६ महिनादेखि भारतमा आफ्नो एप बन्द हुँदा पनि भारतमा रहेका कर्मचारीहरुलाई पारिश्रमिक प्रदान गरिरहेको छ । यति हुँदाहुँदै पनि भारतले यसलाई फेरि कहिलेदेखि पुनः सुचारु गर्ने भन्ने कुनै निर्णय नलिएपछि अन्ततः यस्तो निर्णय लिनुपरेको पनि उक्त प्रवक्ताले बताएका हुन् ।

कम्पनीको यस्तो निर्णयले भारतमा रहेका कर्मचारीहरुको करियर र जीविकामा ठूलो असर पर्नेमा प्रवक्ताले दुःख व्यक्त गरे । भारतमा मात्रै टिकटकका २० करोडभन्दा धेरै प्रयोगकर्ता छन् । कर्मचारीको संख्या दुई हजारभन्दा बढी छ ।

‘हामी भारतमा टिकटक रि–लञ्च गरी त्यहाँका लाखौँ टिकटक प्रयोगकर्ता, कलाकार, स्टोरी–टेलर र पर्फोमरहरुलाई सहयोग गर्ने मौका पुनः पाउँछौँ भन्ने आशामा छौँ’ प्रवक्ताले भने । एजेन्सी

प्रतिक्रिया