अमेरिकी राष्ट्रपति बाइडेनद्वारा नयाँ कार्यकारी आदेश जारी


काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तन सम्बन्धीका मुद्दालाई समेट्दै नयाँ कार्यकारी आदेश जारी गरेका छन्।

जारी आदेशमा सीमित स्थान र क्षेत्रबाहेक उर्जा उत्खननमा प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ ।

नयाँ तेल तथा ग्यासका लागि सार्वजनिक जमिनको प्रयोगमा प्रतिबन्ध लगाइएको छ भने सन् २०३० सम्ममा हावाबाट उत्पादन हुने उर्जालाई दोब्बर पार्ने नीति लिइएको आदेशमा उल्लेख छ ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वातावरणीय सुरक्षालाई कटौती गर्दै उर्जा उत्पादनलाई बढावा दिएकोमा बाइडेनले त्यसलाई पनि उल्ट्याइ दिएका हुन् ।

कार्यकारी आदेश जारीपछि बाइडेनले जलवायु परिवर्तनले सिर्जित संकट समाधानमा अमेरिकाले विश्वको नेतृत्व लिने बताउँदै सुरूवात अमेरिकाबाटै भएको बताए ।

‘हामीले धेरै लामो समय पर्खिसक्यौँ र अब थप पर्खिन सक्ने अवस्था छैन, ह्वाइट हाउसमा आजको दिन जलावायु दिवस हो,’ बाइडेनले भने ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि जस्तै जलवायु संकट समाधानका लागि पनि एकीकृत राष्ट्रिय नीति र प्रक्रियाहरु आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया