ओलीबाहेक अरु एकताका पक्षमा, पार्टी फुटाएर निर्वाचनमा गए पराजित हुनुको विकल्प छैन : बामदेब गौतम


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटाएर निर्वाचनमा गए पराजित हुनुको विकल्प नरहेको बताएका छन् । बुधवार ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा आयोजित एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

गौतमले ओली समूहका अध्यक्ष केपी शर्मा ओली बाहेक सबै पार्टी एकताको पक्षमा छन् त्यस्तै प्रचण्ड–माधबको पक्षमा रहेकाहरू पनि धेरै जसो पार्टी एकताको पक्षमा रहेको बताएका छन् । गौतमले आफूलाई पछि एक समूहमा लाग्ने आंशका भइरहेको भन्दै आफू दुवै समूहमा नलाग्ने घोषणा गरे । उनले पार्टी एकतामा नै जुट्ने बताए ।

‘फुटेर चुनावमा जाँदा हामी पराजित हुनुको विकल्प छैन । २–४ ठाउँमा जितिएला । फुटेर गए मत विभाजित हुन्छ । अर्को पार्टी सरकारमा जानेछ । निर्वाचन निर्माणका निम्ति हुन्छ, जुटेर मात्रै प्राप्त गर्न सकिन्छ,’ उनले भने ।

आफूले चार वर्ष ‘फुटेर प्राप्त गर्न सकिन्छ’ भन्दै हिँडेको बताउँदै पार्टी फुटाएर जाँदा एउटा पनि सिट जित्न नसकेको सम्झिए । ‘व्यावहारिक र राजनीतिक रुपमा फुटेको छ । कानुनी रुपमा फुटेको छैन । म विभाजनको प्रत्यक्षदर्शी छु,’ उनले भने ।

१३ वर्ष संघर्ष गरेर बनाएको पार्टी तीन वर्ष नै नपुगी फुटेको उनले बताए । पार्टी जुट्न आवश्यक रहेको उनले उल्लेख गरे । पार्टीका दुई अध्यक्ष पार्टीलाई चिरा पार्न लागिपरेको आरोप पनि उनले लगाए । यसले जनतामा निराशा उत्पन्न भएको उनको भनाइ छ ।

प्रतिक्रिया