

मुलुककै गढ मानिने चितवन ३ मा कांग्रेस पाँचौँ

काठमाडौं – दोस्रो संविधान सभा निर्वाचनमा देशैभरमा सबैभन्दा सुरक्षित ठाउँ मानेर तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला चितवनको तत्कालीन क्षेत्र नं ४ बाट उम्मेदवार बनेका थिए । भारी मतले उनी विजयी पनि भए । उनले छाडेर उपनिर्वाचन हुँदा कांग्रेसका रामकृष्ण घिमिरेले पनि अत्याधिक मतले विजयी भए ।
हालको क्षेत्र नं ३ सोही क्षेत्र पर्दछ । विगत नौ वर्षमा सो क्षेत्रमा कांग्रेसको प्रभाव निरन्तर ओरालो लाग्यो । यही मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फको मत परिणामअनुसार कांग्रेस सो क्षेत्रमा पाँचौँ हुन पुगेको छ । चितवन ३ मा समानुपातिक ९४ हजार २८० मत सदर हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले २८ हजार ४०२ मत प्राप्त गरेर पहिलो बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १६ हजार ७५५ मत प्राप्त गरी दोस्रो बनेको छ भने नेकपा (माओवादी केन्द्र)ले १६ हजार ८९ प्राप्त गरी तेस्रो भएको छ । नेकपा (एमाले)ले १४ हजार ५२२ मत प्राप्त गरेर चौँथो र कांग्रेसले १० हजार ५२१ मत प्राप्त गरी पाँचौँ स्थानमा पुगेको छ ।
सो क्षेत्रमा कांग्रेसले झण्डै ४० हजार र एमालेले ३० हजार हाराहारी मत भएको दाबी गर्दै आएका थिए । समग्र जिल्लामा पहिलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी बन्न सफल भएको छ । समानुपातिक मत परिणामअनुसार एमाले दोस्रो र कांग्रेस तेस्रो भएका हुन् ।
जिल्लामा कूल खसेको समानुपातिक मतको ३६ प्रतिशत मत पाएर स्वतन्त्र पार्टी पहिलो पार्टी बनेको हो । समानुपातिकमा एमालेले २० प्रतिशत, कांग्रेसले १४ प्रतिशत, माओवादीले केन्द्रले ११ प्रतिशत, राप्रपाले नौ प्रतिशत र नेकपा (एकीकृत समाजवादी)ले दुई प्रतिशत मत पाएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ९९ हजार ३७ मत पाउँदा एमालेले ५५ हजार ३१२, नेपाली कांग्रेसले ३९ हजार १३०, माओवादी केन्द्रले २९ हजार ४६१, राप्रपाले २५ हजार ५५ र नेकपा (एकीकृत समाजवादी)ले ४ हजार ९०६ मत प्राप्त गरेका छन् ।
क्षेत्र नम्बर १ मा ९५ हजार ३९९ मतमा स्वतन्त्र पार्टीले ३४ हजार ६९१ मत प्राप्त गरेको छ । एमालेले २४ हजार ६, कांग्रेसले १६ हजार ६९५,माओवादी केन्द्रले चार हजार ९६५, राप्रपाले ५ हजार ८२ र नेकपा एकीकृत समाजवादीले ३ हजार ५१८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी नवीनराज रुवालीले जानकारी दिए ।
चितवन २ मा ८२ हजार ९३४ मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ३५ हजार ९४५ मत पाएको छ । एमालेले १६ हजार ७८४ मत पाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसले ११ हजार ९१४, नेकपा माओवादी केन्द्रले ८ हजार ४०७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार २१८ र एकीकृत समाजवादीले ६१६ मत पाएको छ ।
जिल्लामा पुराना एवं ठूला पार्टीले नयाँ र साना दलसँग प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जित निकाल्न नसके पनि समानुपातिकमा समेत यसको प्रभाव देखिएको छ । प्रत्यक्षमा दुई क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी र एक क्षेत्र राप्रपाले जितेका छन् । प्रदेशसभामा एमालेले दुई र कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाले एक एक क्षेत्र जितेका छन् ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालले संघ र जिल्ला तहमा गठबन्धन गरिए पनि मतदाताले अस्वीकार गर्दा पार्टीले मत कम पाएको बताए । जिल्लामा रुष्ट बनेका दलका कार्यकर्ताले फरक उम्मेदवारलाई मतदान गरेपछि पहिले पहिले निर्वाचन जितेका दलहरू अहिले निकै कमजोर देखिएका हुन् ।

