

‘एक्सन’मा नवनिर्वाचित कांग्रेस सांसद शर्मा !
चुनाव जितेको भोलिपल्टै वाचाअनुरूप नोबेल शिक्षण अस्पतालमा ५० शय्याको निःशुल्क क्याबिन सञ्चालन

मोरङ — नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नं. ३ बाट निर्वाचित डा. सुनिल शर्मा जितलगत्तै बाचा पूरा गर्न एक्सनमा उत्रिएका छन् ।
शनिबार विजयी घोषित शर्माले आफूले गरेको बाचाअनुरुप नोबेल शिक्षण अस्पताल विराटनगरमा ५० शय्याको निःशुल्क क्याबिन सेवाको उद्घाटन आइतबार गरेका हुन् ।
चुनावमा मतदातासँग भोट माग्ने क्रममा उनले निर्वाचनमा विजयी भएको प्रमाणपत्र पाएको ७२ घण्टाभित्र ५० शय्या क्याबिन निःशुल्क सञ्चालन गर्ने घोषणा गरेका थिए ।
शनिवार मोरङ ३ को निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र पाएका शर्माले आइतबार नोबेल अस्पतालभित्र क्याबिन निःशुल्क सेवाको शुभारम्भ गरेका हुन् ।
उनले भने, ‘हिजो सिफारिस चाहिन्थ्यो, राजनीतिक रूपमा सम्पर्क नभएकाहरूले सेवा लिन सक्नुहुन्न थियो । अब मोरङ ३ का बिरामीले मतदाता परिचयपत्र देखाएर नै यो सेवा पाउनेछन् ।’ सेवा शुभारम्भ गर्दै शर्माले निर्वाचनमा जनतासामु गरेका हरेक बाचा पूरा गर्ने गरी काम सुरु भएको बताए ।
शर्माले मोरङ ३ बाट पूर्वमन्त्री भानुभक्त ढकाललाई २२ हजार ५५६ को फराकिलो मतान्तरले हराएका थिए । उनी ४८ हजार ६३१ मत प्राप्त गरी विजयी हुँदा निकटतम ढकालले २५ हजार ८९५ मत प्राप्त गरे । सोही क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नायिका रेखा थापाले पनि उम्मेदवारी दिएकी थिइन् । उनी तेस्रो भएकी थिइन् ।

