नेता खनाल भन्छन् – चुनावमा धाँधली भयो, पुनः मतदान हुनुपर्छ


काठमाडाैं – पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । इलाम क्षेत्र नं १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने बताए ।

शुक्रवार पत्रकारसँग कुरा गर्दै उनले भने, ‘सरासर धाँधली भएको छ । दुई हजार चार सय २४ मत खसेको मुचुल्का छ । यिनै बाकसमा गन्दा दुई हजार छ सय ९० मतपत्र फेला परेको छ । दुई सय ६६ मतपत्र बढी भेटियो ।’

उनले निर्वाचन ऐनअन्तर्गत त्यो कागजले मान्यता नपाउने जनाए । पूर्व प्रम खनालले भने, ‘कसले छिरायो त्यहाँभित्र मुचुल्का कागज सही हो कि होइन ? निर्वाचन ऐनअन्तर्गत त्यो कागजले मान्यता पाउँदैन ।’

हालसम्मको गणनाअनुसार इलाम-१ मा नेकपा (एमाले)का महेश बस्नेतले दुई हजार चार सय ५५ मतान्तरले अग्रता लिइरहेका छन् । खनालले १६ हजार ८७ मत प्राप्त गर्दा बस्नेतले १८ हजार पाँच सय ४२ मत पाएका छन् । क्षेत्र नं १ मा ५९ हजार नौ सय छ मध्ये १७ हजार दुई सय ५९ मत गणना हुन बाँकी छ । तर, खनालले पुनः मतदानको माग गरे ।

प्रतिक्रिया