

रविले गरे चुनाव खर्च सार्वजनिक, कति भयो त उनको जम्मा खर्च ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।
चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानले चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ खर्च भएको बताएका छन् ।
उनले औपचारिक सपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेसमेत बताएका छन् ।
सामाजिक सञ्जालमार्फत जनाकारी दिँदै सभापति लामिछानेले आजदेखि खुसियाली मनाउने दिन सकिएको घोषणा गरेका छन् ।
लामिछानेले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने दाबी गर्दै संघसंस्थाको उद्घाटन, आसन ग्रहणमा सहभागी नहुने बताएका छन् ।
लामिछानेले प्रत्यक चार महिनामा सार्वजनिक सुनुवाइमा आफैं उपस्थित हुने बताए ।
लामिछाने चितवनको क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई भारी मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । यस निर्वाचनमा उनी सबैभन्दा बढी मतान्तरले जित हात पार्ने विजयी सांसद पनि हुन् । उनले प्रतिद्वन्द्वभन्दा ३४ हजार बढी मतान्तरले जित हात पारेका छन् ।

