जुम्लामा आगलागीबाट चार तले घर जलेर नष्ट


जुम्ला – जुम्लामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका ३ निवासी लालबहादुर खत्रीको घर जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार ४ तले १७ कोठे घर जलेर नष्ट भएको छ । बिहीबार राति साढे २ बजे आगलागी भएको रहेछ । तर प्रहरीलाई बिहान ६ बजे मात्रै खबर भएको थियो ।

वडाध्यक्ष रतन खत्रीका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन । घटना पछि चन्दननाथ नगरपालिकाले बैठक बसेर ६० हजार तत्कालका लागि राहत दिने निर्णय गरेको वडाध्यक्ष खत्रीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा आकस्मिक बैठक बसेर राहतको लागि छलफल भएको छ । जिल्ला प्रशासनले नियमानुसार दिने २५ हजार पनि राहत उपलब्ध गराइनेछ ।

प्रतिक्रिया