निर्यातजन्य व्यवसायीहरूले आफ्नाे उत्पादन निशुल्क प्रचारप्रसार गर्न सुचना पोर्टल


काठमाडौं – वैदेशिक व्यापारसम्बन्धी सूचना प्रवाहको सहजीकरणका लागि नयाँ सुचना पोर्टलको सुरुवात गरिएको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्रले ‘नेपाल व्यापार सूचना पोर्टल’ नामक नयाँ अनलाइन पोर्टलको मंगलबार सुरुवात गरेको हो ।

केन्द्रले आयोजना गरेको कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सो पोर्टलको ‘शुभारम्भ’ गरेका हुन् । केन्द्रले ल्याएको सो पोर्टलमा वैदेशिक व्यापारसम्बन्धी तथ्यांकको जानकारी तथा बहुआयामिक ढंगले तथ्यांकको विश्लेषणका लागि सहयोग गर्ने व्यवस्था गरिएको बताइएको छ । त्यस्तै, निर्यातजन्य व्यवसायीहरूले सो पोर्टलमार्फत् लगइन गरी आफूले उत्पादन गरेका निर्यातजन्य वस्तु तथा सेवाको बारेमा निशुल्क रुपमा प्रचारप्रसार गर्नसक्ने व्यवस्था समेत सो पोर्टलमा गरिएको छ ।

केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले सो पोर्टलमा निर्यातसम्बन्धी कानून र यसको प्रक्रिया, वैदेशिक व्यापारसम्बन्धी सूचना तथा विश्लेषण र प्रचारप्रसारका लागि पोर्टल उपयोगी हुने बताउँदै भावी दिनमा यसमा थप नयाँ फिचर थप्दै जाने बताए ।

त्यस्तै, उद्योग मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले सो पोर्टलमा नेपालको निकासीजन्य वस्तुको सम्बन्धित गन्तव्य देशमा हुने मागबारे तथा आयातको अवस्थाबारे जानकारी पनि थप गर्दै जाने व्यवस्था रहेको जानकारी दिए ।

केन्द्रले भन्सार विभागबाट प्राप्त गरेका आयात तथा निर्यातसम्बन्धी तथ्यांकलाई प्रशोधन तथा प्रकाशन गर्ने तथा निर्यात प्रवद्र्धन तथा सहजीकरणसम्बन्धी नीति निर्माणका लागि सरकारलाई सिफारिस गर्दै आएको छ । सो पोर्टलमा विभिन्न देश तथा बहुराष्ट्रिय व्यापार सम्झौताहरुलाई समेत एकीकृत गरेर राखिएको छ ।

प्रतिक्रिया