

जिम्मेवारी सकेर घर फर्के म्यादी प्रहरी

बागलुङ – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भर्ती गरिएको बागलुङ्का म्यादी प्रहरी जिम्मेवारी सकेर घर फर्केका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले एक कार्यक्रम गरी उनीहरुलाई विदाई गरेको हो । प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले विदा हुने म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गरेका थिए ।
आम निर्वाचनको लागि असोज २८ गते बागलुङमा एक हजार १३५ जना म्यादी प्रहरी भर्ना गरिएको थियो । आम निर्वाचनको सुरक्षा व्यवस्थापनमा म्यादी प्रहरीको महत्वपूर्ण भूमिका रहेको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले उल्लेख गरे ।
जिल्लामा म्यादी प्रहरीको कारण सुरक्षा व्यवस्थापनमा समस्या र्सिजना तथा विवाद र गुनासो नभएको उनको भनाई थियो । चालिस दिने कार्य अवधिमा सिकेको ज्ञान, सिप र तालिमले व्यक्तिगत तथा सामाजिक जीवनमा सुन्दरता भर्ने सिडियो ढकालको भनाई थियो ।
सुरक्षा बलको तालिमले मेहनत, परिश्रम, अनुशासन र समय व्यवस्थापन सिकाएको म्यादी प्रहरी पूर्णिमा विकले बताए । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराएर घर फर्किदा खुसी लागेको विकले बताए । ‘हामीले आफ्नो जिम्मेवारी पुरा गरेर घर फर्किएका छौँ’ उनले भने ‘तालिममा सिकेका ज्ञान, सिपलाई समाजको शान्ति सुरक्षा व्यवस्थापन, विवाद हल गर्न प्रयोग गछौँ ।
म्यादी प्रहरीले सुरक्षा व्यवस्थापनमा कुनै सकर बाँकी नराखेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी दयाधिनी ज्ञवालीको भनाई थियो । विदाई भएका म्यादीलाई आफ्नो योग्दा अनुसार सुरक्षा बलमा जोडिन उनले आग्रह गरे । ‘आजदेखि तपाईहरु पूर्वप्रहरी हो’ एसपी ज्ञवालीले भने ‘विना बर्दीको प्रहरी बनेर शान्ति सुरक्षा व्यवस्थापनमा योगदान गर्नुहोस ।’ विदाई क्रममा केक काटिएको थियो ।

