
महाधिवेशन नभएकाे भन्दै नेविसंघका सदस्यहरूले कांग्रेस नेतालाई सानेपामै घेरे
काठमाडौं – लामो समयदेखि महाधिवेशन नभएर नेपाल विद्यार्थी संघ अस्तव्यस्त बनेको छ । सोही विषयलाई लिएर नेविसंघका नेताहरूले सानेपा कार्यालय घेराउ गरेका छन् । नेपाल विद्यार्थी संघको एउटा समूहका सदस्यहरूले सानेपास्थित कांग्रेस मुख्यालयमा नेताहरूलाई महाधिवेशन नगरेको भन्दै घेरेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले ५३ वर्षीय राजीव ढुंगानालाई नेविसंघको नेतृत्व जिम्मा लगाएपछि संगठन झनै अस्तव्यस्त भएको भन्दै केन्द्रीय समिति बैठकका लागि पुगेका नेताहरुलाई घेराबन्दी गरेका हुन्।
विधानसम्मत नेविसंघ चलाइँदा कांग्रेसलाई नै फाइदा हुने बताउँदै नेताहरू नवराज त्रिपाठी, मनीष सिम्खडासहित करिब ५० जनाले सानेपा पुगेका नेताहरूलाई घेरेका हुन्। नेविसंघका विद्यार्थीहरु सानेपाको मूल ढोकामै बसेर विभिन्न प्लेकार्डसहित धर्ना दिएका थिए।
राजीवले कांग्रेस नेताको घर मात्रै ढुक्ने काम गरेको धर्नामा सहभागीहरूले आरोप लगाएका छन् । उनीहरूले ढुंगानाले एक वर्षभित्र महाधिवेशन गर्नुपर्नेमा जिल्लाको एउटै अधिवेशन नगरेको गुनासो गरेका छन्।
‘विधि विधानको धज्जी उडाएर ५३ वर्षीय राजीव ढुंगानालाई नेविसंघको नेता बनाएर केही पनि प्रगति भएन’, नेता सिम्खडाले भने, ‘ढुंगाना आउनुअघि नै २२ वटा जिल्ला अधिवेशन भएका थिए। उनी आएपछि थप एउटा जिल्लाको पनि अधिवेशन हुन सकेन। क्याम्पस इकाइहरूको अवस्था पनि लथालिङ्ग नै छ।’



कागजपत्र |
