प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा बरबराउने गर्दछन् : पौडेल


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति र नागरिक आन्दोलनमाथि बालुवाटारमा भएको प्रहरी दमनलाई सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुक र ट्विटमार्फत यस्तो बताएका छन्।

‘प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ती र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको छ ।’ मंगलबार विहान फेसबुकमार्फत लेखेका छन् ।

उनले लेखेका छन्, ‘हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरि बरबराउने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ । सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरि दमनमा उत्रने गर्दछन्, जसरी सोमबार प्रबुद्ध नागरिकमाथि प्रहार भयो । तर, दमनले नागरिकलाई थप उर्जा प्रदान गर्दछ र अझै प्रतिमनसंग डटेर लड्नका लागि प्रतिगमन विरुद्धका सबै आन्दोलनमा मेरो साथ र सर्मथन रहनेछ । लोकतन्त्र र लोकतान्त्रीक संविधानको रक्षाका लागि हुने आन्दोलनमा म आफैं अघिल्लो मोर्चामा हुनेछु ।’

सोमबार संसद विघटनविरुद्ध बालुवाटार नजिकै बृहत नागरिक आन्दोलनको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दै धरपकड गरेको थियो ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रको आन्तरिक विवादलाई देखाएर पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । कांग्रेसले प्रधानमन्त्रीको कदमको विरोध गर्दै सडक आन्दोलन गर्दै आएको छ । साथै अन्य राजनीतिक दल र नागरिक समाज पनि निरन्तर आन्दोलित छ ।

प्रतिक्रिया