भक्तपुर १ मा एमालेको अग्रता, नेमकिपालाई धक्का


काठमाडाैं – नेपाल मजदुर किसान पार्टीको गढ मानिने भक्तपुर १ मा नेकपा एमालेका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् । मंगलवार अपरान्हसम्मको गणनामा नेमकिपाका प्रेम सुवाललाई पछि पार्दै एमालेका नवराज गेलाल ७ हजार ३ सय ५४ मतसहित अगाडि छन् ।

नेमकिपाका प्रेम सुवालले ५ हजार ६ सय ८४ मत प्राप्त गरेका छन् । तेस्रोमा राप्रपाका भरत खड्काले ४ हजार ८ सय १ मत प्राप्त गरेका छन् । माओवादीका सुनिल गोठे चौथो स्थानमा छन् ।

२०७४ सालको चुनावमा सुवालले ३३ हजार ७६ मत पाएर विजयी भएका थिए । त्यो बेला कांग्रेसका बावुराजा जोशी १७ हजार ८१८ र माओवादीको मिलन सुवालले १५ हजार ३७४ मत प्राप्त गरेका थिए ।

स्थानीय तह निर्वाचनमा नेमकिपाले भक्तपुर नगरपालिकामा फराकिलो मत हासिल गरेको थियो । नगरकोटतर्फको मतगणनामा एमाले अगाडि देखिए पनि अन्तिममा आफ्नो पार्टीले जित्ने नेमकिपाका एक नेताले बताए ।

आफूले जित्दै आएको भक्तपुर १ मा अध्यक्ष नारायणमान विजुक्छेले प्रेम सुवाललाई छाडेका थिए । उत्तर कोरियाली नेता किम इल सुङले अगाडि सारेको जुछे विचारलाई आदर्श मान्ने नेमकिपाले आफूले जितेको स्थानीय तहलाई नमुना बनाएको छ ।

भक्तपुर २ मा कांग्रेसले अग्रता लिइरहेको छ, नेमकिपाकी अनुराधा थापा तेस्रो स्थानमा छिन् ।

प्रतिक्रिया