

चितवन पुगेर बामपन्थी नेता काजीबालाई प्रचण्डले दिए श्रद्धाञ्जलि

चितवन – ९४ वर्षको उमेरमा निधन भएका पुराना वामपन्थी नेता खम्बासिंह कुँवर ‘काजीबा’ को निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु कुँवरको भरतपुर अस्पतालमा आज बिहान निधन भएको छ ।
चितवन पुगेर काजीबालाई प्रचण्डले अन्तिम श्रद्धाञ्जली दिएका हुन् । मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्ट्रेटलगायत रोगबाट पीडित काजीबाको अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो ।
उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सल्लाहकार थिए । कुँवर वि.सं. १९८४ बैशाख १० गते लमजुङ जिल्ला बाङ्ग्रे–७ मा जन्मिएर चितवन गीतानगर, केशरवागमा बसोबास गर्दै आएका थिए ।
भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार बिहान ८ः४५ बजे उनको निधन भएको हो । उनमा निमोनियाको समस्या पनि देखिएको अध्यक्ष अधिकारीले जनकारी दिए । उनको आजै पवित्र तीर्थस्थल देवघाटमा दाहसंस्कार गरिँदै छ । त्यसअघि नेकपा चितवनको पार्टी कार्यालयमा श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको जनाएको छ ।
उनको जन्म बुबा ललितजंङग कुँवर र आमा पुतली कुँवरका कान्छा छोराको रुपमा भएको थियो । उनका २ छोरा र ४ छोरी छन् । भारतीय सेनाको सेवा सुविधालाई छोडेर देश र जनताका निम्ति क्रान्तिमा होमिएका कुँवरले कम्युनिष्ट पार्टीको सदस्यता २०११ सालमा लिएका थिए ।
२०३१ सालमा सम्पन्न चौथो महाधिवेशनबाट वैकल्पिक पोलिट्व्यूरो सदस्यमा निर्वाचित भएका उनी २०४३ सालको अन्त्य तिर गण्डक ब्यूरोबाट सरुवा भई नारायणी ब्यूरोमा आएका थिए ।

