

उत्तराधिकारी तयार पार्दै निर्मल निवासः तन्नेरी हृदयेन्द्र चर्चाको लयमा, हिमानी ‘केयर टेकर’

काठमाडौं– निर्मल निवासभित्रको उत्तराधिकारी राजनीतिको ‘खटपट’ सुरु भएको छ । पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाहबीच यस विषयमा खटपट सुरु भएको बताइन्छ ।
कोमल सुध्रिन थालेका छोरा पारस शाहलाई निर्मल निवासको उत्तराधिकारी बनाउन दबाब दिन थालेकी छन् भने ज्ञानेन्द्र बुहारी हिमानी शाहलाई उत्तराधिकारी बनाउनुपर्ने अडानमा छन् ।
दरबारले आगामी दिनमा राजनीतिमा पनि पाइला चाल्ने संकेतसहित हिमानीलाई अगाडि बढाउने तयारी भएको हो । करिब–करिब राजतन्त्र फर्किन मुस्किल रहेको देखेपछि हिन्दू राज्यको एजेन्डालाई स्थापित गराउनका लागि राजनीतिमा दरबारबाट उत्तराधिकारीको खोजी भइरहेको स्रोतले दाबी गरेको छ ।
यही खोजीका लागि नै दरबारमा पारस र हिमानीका विषयमा बहस सुरु भएको हो । पारस अहिले विभिन्न शक्तिपिठ धाइरहेका छन्, त्यसअघि नै हिमानीले शक्तिपिठ देखि सामाजसेवामा पनि आफूलाई अब्बल सावित गरिसकेकी छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले दरबारको राजनीति, कुटनीति र सम्बन्धको साँचो बुहारी हिमानीलाई जिम्मा लगाएर झापा पुगेका छन् । उनले राजसंस्था र हिन्दूत्वको अभियानबारे प्रदेश १ का विभिन्न स्थानमा रहेका आफूनिकट अधिकारीहरूलाई पनि भेट्नेक्रम जारी राख्नु अर्थपूर्ण छ ।
निर्मलनिवास स्रोतका अनुसार अप्ठेरो अवस्थामा पनि हिमानीले दरबारको साख जोगाउनका लागि सामाजिक काममा सक्रियता देखाएका कारणले उत्तराधिकारी बनाउने तयारी गरेका हुन् ।
ज्ञानेन्द्रले दरबारसँग जोडिएका सबै पारिवारिक नातालाई राजनीतिबाटै आफ्नो विरासतमा नाम कायम रहन सक्ने भएर समेट्न खोजेका हुन् ।
दरबारले पूर्वपञ्चको प्रयोगमा एक पटक धार्मिक रक्षाको अभियान चलाउने तयारी पनि गरेको छ । शिव सेना नेपाललगायत धार्मिक सुरक्षाका लागि लागेका बेला राजनीतिक रूपमा पनि यो मुद्दा स्थापित गराउन ज्ञानेन्द्रले राप्रपाहरूको एकता चाहेका थिए । जसअनुसार राप्रपा एकीकरण भई अभियानमा जुटिसकेको छ ।
मौकामा गणतन्त्रवादी बन्दै अवसर लिँदै ज्ञानेन्द्रको मागलाई वास्ता नगरेका पूर्वपञ्चहरू यतिबेला हिन्दू राज्य र राजतन्त्रको मुद्दामा समान हुन लागेका छन् ।
राजतन्त्रको मुद्दा त्याग्दै गणतन्त्रको बाटोमा हिँडेका पशुपति शमशेर राणा, गणतन्त्र नेपालको संविधानलाई बहुमत पुराउनका लागि सहयोग गरेका कमल थापा, राजा मान्ने तर गणतन्त्रवादीलाई सहयोग गरेका लोकेन्द्रबहादुर चन्दसहितका नेता एकीकरणमा जोडिए ।
ज्ञानेन्द्रसँग चिसिएको सम्बन्ध सुधार्ने मध्यस्तताका लागि नेपालगञ्जका मेयर धवल शमशेर राणाले सहयोग गरेको स्रोतको दाबी छ ।
‘तर राजा यस विषयमा पनि निक्कै गम्भिर होइबक्सन्छ, यी राजनीतिज्ञ समयमा धोका दिन माहिर रहेको राजाले भनिबक्सिन्छ’, निर्मलनिवास स्रोतले भन्यो,‘तर पनि हिन्दू धर्म जोगाउनका लागि अन्य कुनै शक्ति र ताकत नलागेपछि टालैको भए पनि सहयोग लिने अन्तिम प्रयोग हो ।’
यसैबीच, भारतीय अधिकारीहरूले विभिन्न आलेख मार्फत नेपालमा हिन्दूत्व कायम गर्दै राजसंस्था कायम गराउनुपर्ने आवाज बलियो बनाउन थालेका छन् । चर्चाको लयमा रहेका पारस–हिमानीपुत्र हृदयेन्द्र शाहलाई अगाडि सार्दै अहिलेको राजनीतिक अवस्थामा ०४७ सालको संविधान स्थापित गर्नुपर्ने त्यहाँका पूर्वसचिवले आलेखमार्फत भन्दै आएका छन् । निर्मल निवासले पनि हृदयेन्द्रको ‘केयरटेकर’ हिमानीलाई नै बनाउन खोजेको छ ।
नेपालको हिन्दूत्वको रक्षा र हिन्दू राज्य निर्माणमा अहिले राजावादीको आन्दोलनमा सहयोग गर्न सकिने त्यहाँका सैनिकका पूर्व जनरलहरूले पटि टिप्पणी गर्दै आएका छन् । हालै मात्र मेजर जनरल जीडी बक्सीले नेपालमा हिन्दूत्व कायम गर्नुपर्ने बताएका थिए । उनले नेपालमा हिन्दूत्व रक्षाका लागि सहयोग गरिने पनि बताएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि राजावादी हौसिएका छन् भने नेपालमा हिन्दूत्व कायम हुन सक्ने भन्दै अभियानको तयारीमा पनि छन् ।

