

भारत, भुटान, बंगलादेश र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त नेपाल आउँने

काठमाडौं – आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको पर्यवेक्षणका लागि भारत, भुटान, बंगलादेश र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त नेपाल आउने निर्वाचन आयोगले जनाएको छ ।
बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यसबारे जानकारी दिएका हुन् । निर्वाचनसम्बन्धी काम कारबाहीको पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न उनीहरूलाई बोलाइएको थपलियाले बताए ।
यस्तै श्रीलंका र दक्षिण कोरियाका निर्वाचन आयुक्तसहितको टोलीपनि निर्वाचन पर्यवेक्षणका आउनेछन् । नेपालस्थित १८ वटा कूटनीतिक नियोगहरूबाट समेत मतदानको दिनको अवलोकन गरिने भएको छ ।
अनुमति प्राप्त ४४ वटा राष्ट्रिय संस्थाबाट ७ हजार २०७ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना गरी ७ हजार २१९ जनालाई आयोगले पर्यवेक्षण परिचय पत्र उपलब्ध गराइसकेको छ ।
पर्यवेक्षकहरूले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित प्रणालीको १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीको ३३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्नेछन् । हालसम्म करिब ७ हजार ५०० जनालाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराइसकेको आयोगले जनाएको छ ।

