

अमेरिकी राजदूत र्याण्डी बेरीद्वारा राजनीतिक भेटघाट तीव्र

काठमाडौं – अमेरिकामा नयाँ राष्ट्रपतिको कार्यकाल सुरु भएसंगै नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले काठमाडौंमा राजनीतिक भेटघाट तीव्र बनाएका छन् । जो वाइडनले राष्ट्रपतिको कार्यभार सम्हालेलगत्तै अमेरिकी राजदूत बेरीले ‘नयाँ प्रशासनका प्राथमिकताहरुबारे छलफलका लागि राजनीतिक दलका नेताहरू संग भेटघाट बढाएका छन् ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका अमेरिकी राजदूतले सोमबार एकैदिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । उनले अन्य राजनीतिक दलका नेताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम भएको बताइएको छ ।
बेरीले प्रचण्डसँगको भेटपछि ट्वीट गर्दै भनेका छन्, ‘नयाँ प्रशासनका प्राथमिकताहरुबारे छलफल गर्न भइरहेका श्रृंखलाबद्ध भेट अनुसार मैले प्रचण्डसँग भेट गरेको छु । मैले प्रजातन्त्रलाई सुदृढ गर्ने, जलवायु परिवर्तनविरुद्ध लड्ने र विश्वभर महिला र बालिकहरुको मानव अधिकारलाई संरक्षण गर्ने अमेरिकी प्रतिवद्धता दोहोर्याएको छु ।’

पछिल्ला भेटहरु नयाँ राष्ट्रपतिको नेपाल र विश्वव्यापी प्राथमिकता जानकारी गराउने उद्देश्यले भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।
वाइडले जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा पुनः जोडिने निर्णय लिएका छन् जुन निर्णयले नेपाललाई पनि केही असर गर्छ । अमेरिकाले सो सम्झौतामा जोडिने निर्णय गरेसँगै राजदूत वेरीले नेपालले गर्न लागेको सगरमाथा संवादलाई सहयोग गर्ने चाहना व्यक्त गरेका छन् । जलवायु परिवर्तनका एजेण्डाहरुमा नेतृत्व लिने उद्देश्यले नेपालले सो संवाद गत वर्ष आयोजना गर्ने तय गरेको थियो तर कोभिडका कारणले सम्भव भएन । सो संवादलाई सहयोग गर्ने चाहना अमेरिकाले व्यक्त गरेको छ ।

त्यसैगरी नेपाली नेताहरुसँगको भेटमा अमेरिकाले कोभिड–१९ विरुद्ध लड्न नेपालसँग नजिकको सहकार्य गर्ने अमेरिकी चाहना समेत राजदूतले व्यक्त गरेका छन् । त्यसैगरी महिला र बालबालिकाको अधिकार पनि अमेरिकाको अर्को महत्वपूर्ण प्राथमिकता भएको बेरीले नेताहरुलाई जानकारी दिएका छन् ।

