

करिब छ हजार कैदीलाई रिहा गर्दै म्यान्मार सेना

याङ्गुन – म्यान्मारको सेनाले बेलायतका पूर्व राजदूत, एक जापानी पत्रकार र एक अष्ट्रेलियाली आर्थिक सल्लाहकारसहित करिब छ हजार कैदीलाई रिहा गर्ने बिहीबार जनाएको छ । सेनाप्रति बफादार (जुन्ता) सरकारको निर्णय अनुसार राष्ट्रिय दिवसका अवसरमा रिहाइ गरिएका स्वदेशी तथा विदेशी नागरिकलाई तीन वटा बसमा राखी जेलबाट बाहिर पठाइएको एएफपीका म्यानमार संवाददाताले बताए ।
गतवर्ष सेनाले गरेको ‘कू’ र असहमतिमाथिको रक्तपातपूर्ण दमनका कारण दक्षिणपूर्वी एसियाली राष्ट्र म्यानमार अशान्त बनेको छ र यस अवधिमा हजारौँलाई जेल सजाय सुनाइएको छ । बेलायतका पूर्वराजदूत विक्की बोमन, अष्ट्रेलियाका आर्थिक सल्लाहकार सिन टर्नेल र जापानी पत्रकार तोरु कुबोतालाई राष्ट्रिय दिवसका अवसरमा रिहा गरिने एक वरिष्ठ अधिकारीले एएफपीलाई बताएका छन् ।
जुन्ता प्रशासनले तीनै जनालाई सुपुर्दगी गरिने बताएको छ तर यसका लागि मिति भने नतोकिएको बताएको छ । याङ्गुनको इन्सेन जेलबाहिर प्रियजनहरू रिहा हुने आशामा करिब २०० जना मानिस भेला भएका एएफपीका संवाददाताले बताएका छन् ।
प्रतिशोधको डरले आफ्नो नाम बताउन नचाहेकी एउटी महिलाले सेनाविरुद्ध असहमति जनाउन उक्साएको आरोपमा तीन वर्षको जेल सजाय भोगिरहेका आफ्ना पतिलाई पर्खिरहेको बताइन् । ‘यसअघि उनी युएसडीपी (सैन्य समर्थित राजनीतिक दल) समर्थक थिए । ‘कू’ पछि उनी प्रदर्शनमा सामेल भएका थिए । मलाई उनीप्रति गर्व छ,’ उनले भनिन् ।
जुन्ताका अधिकारीले करिब ७०० महिलाको पहिलेको आँकडालाई पुनरवलोकन गर्दै लगभग ६०० महिलासहित कुल पाँच हजार ७७४ कैदीलाई रिहा गरिने पुष्टि गरेका छन् । जुन्ताले आममाफीको घोषणा गर्ने आफ्नो वक्तव्यमा असहमतिमाथि सेनाको दमनका क्रममा क्षमादान गरिएकामध्ये कति जना पक्राउ परेका थिए भन्ने विषयमा केही बताएको छैन ।
सन् २००२ देखि २००६ सम्म राजदूतको रूपमा काम गरेकी बोमनलाई आफ्नो विदेशी दर्ता प्रमाणपत्रमा उल्लेख गरिएको ठेगानाभन्दा फरक ठेगानामा बसिरहेको तर जानकारी नगराएको भन्दै अगस्टमा उनका पतिसहित हिरासतमा लिइएको थियो । उनीहरूलाई पछि एक वर्षको जेल सजाय सुनाइएको थियो । उनका पति म्यान्मारका चर्चित कलाकार हटेन लिनलाई पनि रिहा गरिने सैनिक अधिकारीले बताएका छन् ।
बेलायती कूटनीतिक स्रोतका अनुसार बोमनलाई अहिलेसम्म रिहा गरिएको छैन तर उनलाई रिहा गर्ने अपेक्षा गरिएको छ । जुन्ताको बयानमा उनका पतिलाई देशनिकाला गर्ने सूचीमा समावेश गरिएको छैन । म्यान्मार र उसको पूर्व औपनिवेशिक शासक बेलायतबीचको सम्बन्धमा सेनाको कब्जापछि तिक्तता आएको छ र यस वर्ष जुन्ताले बेलायतले त्यहाँ आफ्नो मिसनलाई ‘अस्वीकार्य’ भन्दै आलोचना गरेको छ ।
सन् २०२१ को फेब्रुअरीमा भएको ‘कू’ पछि पक्राउ परेका टर्नेल म्यान्मारकी नागरिक नेत्री आङ सान सुकीका सल्लाहकारका रुपमा कार्यरत थिए । उनी र सुकीलाई गत सेप्टेम्बरमा जुन्ताको अदालतले आधिकारिक गोपनीयता ऐन उल्लङ्घन गरेको अभियोगमा दोषी ठहर गर्दै तीन–तीन वर्षको जेल सजाय सुनाएको थियो ।
अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले ट्वीटरमा लेखेकी छन्, ‘हामी प्रोफेसर सिन टर्नेलसँग सम्बन्धित रिपोर्टको स्वागत गर्दछौं । प्रोफेसर टर्नेल हाम्रो पहिलो प्राथमिकता हो । त्यसैले, हामी यस चरणमा थप टिप्पणी गर्नेछैनौं ।’ २६ वर्षीय कुबोतालाई गत जुलाईमा याङ्गुनमा सरकारविरोधी र्यालीबाट म्यान्मारका दुई नागरिकसहित पक्राउ गरी १० वर्षको जेल सजाय सुनाइएको थियो ।
म्यान्मारस्थित जापानी दूतावासका एक स्रोतले एएफपीलाई बताएअनुसार कुबोतालाई जुन्ता अधिकारीहरूले आज (बिहीबार) रिहा गर्ने जानकारी गराएको छ । कुबोता ‘आज नै’ जापान प्रस्थान गर्ने बताइएको छ ।
अमेरिकी नागरिक नाथन माउङ र ड्यानी फेन्स्टर, पोल्याण्डका रोबर्ट बोसियागा र जापानका युकी किताजुमीपछि म्यानमारमा पक्राउ पर्ने कुबोता पाँचौं विदेशी पत्रकार हुन् । युनेस्कोका अनुसार विद्रोहपछि कम्तीमा १७० जना पत्रकारलाई पक्राउ गरिएको छ भने करिब ७० जना अझै हिरासतमा छन् ।
उहाँप्रति निकै गर्व छ
सान सान आइले आफू आफ्ना भाइबहिनीको रिहाइको पर्खाइमा रहेको बताएका छन् । उनले एएफपीसँग भने, ‘तीमध्ये तीन जनालाई आठ महिनाअघि तीन–तीन वर्ष जेल सजाय सुनाइएको थियो ।’
‘उनीहरूका छोराछोरी घरमा पर्खिरहेका छन् । उनीहरू रिहा भए भने हामी धेरै खुसी हुनेछौं ।’ स्वतन्त्र विश्लेषक डेभिड म्याथिसनले एएफपीसँग भने, ‘प्रोफेसर टर्नेलको रिहाइ शासकद्वारा बन्धक बनाइएपछिको उल्लेखनीय समाचार हो र उनका परिवार र साथीहरू खुसी हुनेछन् ।’
यद्यपि उनले जुन्ताले सुधारको कुनै सङ्केत नदेखाएको र आममाफीले उनीहरूलाई ‘कू’ पछि भएका अत्याचारबाट मुक्त गर्न नसक्ने बताए ।एम्नेस्टीको क्षेत्रीय कार्यालयका प्रवक्ताले भने, ‘म्यान्मारमा भएको ‘कू’ पछि जेलमा रहेका हजारौं मानिसले केही पनि गलत गरेका छैनन् ।’
सुकीको अपदस्थ सरकारका तीन जना पूर्वमन्त्री र हिरासतमा रहेका अमेरिकी मूलका म्यान्मारका नागरिक क्याउ हटे ओलाई पनि रिहा गरिने जुन्ताका अधिकारीले बताएका छन् । म्यान्मारको एक निगरानी समूहका अनुसार सुकीको सरकारलाई सत्ताच्युत गरेपछि असहमतिमाथि सेनाले गरेको दमनपछि दुई हजार ३०० भन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ ।
जुन्ताले करिब तीन हजार ९०० सर्वसाधारणको मृत्युका लागि ‘कू’ विरोधी लडाकुलाई जिम्मेवार ठहर्याएको छ ।

