
प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको आपत्ति
काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘संसद् विघटनको विरोध गर्नेहरू देशविरोधी हुन्’ भन्ने अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति निकाल्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘अलोकतान्त्रिक’ र ‘अधिनायक आकाङ्क्षालाई थप उजागर’ गर्ने बताएका छन्।
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको बहसलाई ‘तमासा’ भन्नु ‘अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न’ र आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नु प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति’ रहेको कांग्रेसको भनाइ छ।
प्रधानमन्त्रीका पछिल्ला कैयौँ अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई ‘धूलिसात्’ बनाउँदै लगेको काङ्ग्रेसको दाबी छ।
आफ्नो कदमविरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने काम गरेर आफ्नै जिम्मेवारीको प्रधानमन्त्रीबाट अपमान भइरहेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा छ, ‘उहाँको यो प्रवृत्ति दुःखद मात्रै होइन,लज्जास्पद पनि छ।’
संसद विघटनको असंवैधानिक कदम विरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरुलाई देश विरोधी, देशद्रोही भनेर गैह्र जिम्मेवार ढंगले लान्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्री ओलीलाई कांग्रेसले चेतावनी दिएको छ ।



कागजपत्र |
