तोकिएको समयमा नै चुनाव हुन्छ, आत्मविश्वासका साथ चुनावको तयारीमा लाग्नुस् : प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको मितिमा चुनाव हुन्छ । वैशाख १७ र २७ गते नै चुनाव हुने भन्दै तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । दाङमा नेकपाले आयोजना गरेको सभालाई सोमबार सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा कार्यकर्ता र जनता आफुहरूको पक्षमा रहेकोले आत्मविश्वासका साथ चुनावको तयारीमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।

‘तपाईहरु चुनावको तयारीमा लाग्नुस्, वैशाख १७ र २७ गते निर्वाचन हुन्छ । कतिपयले ओलीले निर्वाचन गराउँदैन भन्दैछन् उनीहरुलाई भन्न दिनुस्, तपाईहरू चुनावको तयारीमा लाग्नुस् । हामीले सानदार सफलता प्राप्त गर्नेछौ,’ ओलीले भने, ‘भ्रममा नपर्न आग्रह गर्न चाहन्छु द्विविधामा नपरेर, आत्मविश्वास साथ । चुनावको तयारीमा लाग्नुस् । युवाहरू पनि तयारीमा लाग्नुस् ताकि कसैले चुनाव बिथोल्न नसकोस् ।’

प्रधानमन्त्री ओलीले तोकिएको मितिमै चुनाव हुने भन्दै निष्पक्ष चुनावको तयारीमा लाग्न सुरक्षाकर्मी र कर्मचारीलाई आग्रह गरे । ‘तपाईं सुरक्षाकर्मीलाई भन्न चाहन्छु, चुनाव भनेकै मितिमा हुन्छ । हामीलाई प्रहरीको वैशाखी टेक्नु परेको छैन । कार्यकर्ता र जनताको बलमा चुनाव जितिन्छ । तपाईहरू निष्पक्ष ढंगले चुनाव गराउने तयारी गर्नुस्,’ ओलीले भने ।

प्रतिक्रिया