

पहिलो एक दिवसीय खेल : यूएईविरुद्ध नेपाल ८४ रनले पराजित

काठमाडाैं – नेपाल भ्रमणमा रहेको यूएईले आफ्नो पहिलो एक दिवसीय खेल ८४ रनले जितेको छ । तीन एक दिवसीय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा यूएईले नेपाललाई फराकिलो रन अन्तरले पराजित गरेको हो ।
यूएईले दिएको २६४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७९ रन मात्र जोड्न सक्यो । दीपेन्द्र सिंह ऐरीले ५४ र अर्जुन साउदले ५१ रनको अर्धशतकीय पारी खेले पनि नेपाललाई जीतसम्म डोहोर्याउन सकेनन् ।
यूएईका लागि आयान अफजल खनले सर्वाधिक ४ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन जोडेको थियो ।
उसका लागि रोहन मुस्ताफाले सर्वाधिक ५३ रन जोडेका थिए । नेपालका गुल्सन झाले २ तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए । शृंखलाअन्तर्गत दोस्रो खेल बुधवार हुनेछ ।

