

बेस ट्रेनिङ दिने क्रममा निगमको ‘न्यारोबडी’ भैरहवामा सातपटक अवतरण

काठमाडौं – नेपाल वायु सेवा निगमको एयरबस-३२० जहाज आइतबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए) मा सातपटक अवतरण गरेको छ। दुई जना पाइलटलाई प्रशिक्षण (बेस ट्रेनिङ) दिने क्रममा निगमको न्यारोबडी जहाज भैरहवनमा पटक-पटक अवतरण गरेको हो।
निगमले गौतमबुद्ध विमानस्थलमा पहिलोपटक ‘बेस ट्रेनिङ’दिएको हो। यसअघि निजी क्षेत्रको हिमालय एयरलाइन्सले पनि भैरहवा विमानस्थलमै पाइलटलाई ‘बेस ट्रेनिङ’दिएको थियो।
हिमालयले १७ कात्तिकदेखि भैरहवाबाट मलेसियामा नियमित चार्टर्ड उडान सुरु गरिसकेको छ। निगमको एयरबस ३२० जहाजका प्रशिक्षक पाइलट दीपु ज्वारचनले महेशराज पाण्डे र कुशल थापालाई ‘बेस ट्रेनिङ’दिएका थिए । तालिम लिएपछि पाइलटलाई लाइसेन्स दिइन्छ र को-पाइलटको रूपमा उडान गर्न पाउँछन्।
दिउँसो साढे दुई बजेतिर काठमाडौंबाट उडेको जहाज साँझ ६ बजेतिर काठमाडौं फर्किएको थियो। निगमले भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडानको तयारीसमेत गरिरहेको छ । भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको अध्ययन गर्न निगमले कमर्सियल डिपार्टमेन्टका निर्देशक जनकराज कालाखेतीको नेतृत्वमा समिति गठन गरिएको छ ।

