
लेवान्डोस्की र पिकेले रातो कार्ड पाएको खेलमा बार्सिलोनाको जित
काठमाडौँ- स्पेनिस ला लिगाअन्तर्गत गए राति भएको खेलमा बार्सिलोनाले ओसासुनामाथि २–१ गोल अन्तरको जित हात पारेको छ। खेलको छैटौं मिनेटमा नै डेभिड गार्सियाको गोलबाट ओसासुनाले अग्रता लिएको थियो।
तर, खेलको ४८ औं मिनेटमा पेड्रीले बराबरी गोल फर्काएका थिए भने खेलको ८५ औं मिनेटमा राफिन्डाले बार्सिलोनाको लागि विजयी गोल गरेका थिए।
यसअघि खेलको ३१ औं मिनेटमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्की र पहिलो हाफको इन्ज्युरी समयमा जेरार्ड पिके रातो कार्ड खाँदै मैदानबाट बाहिरिए पनि ओसासुनाले त्यसको फाइदा भने उठाउन सकेन।
यससँगै लिगको शीर्षस्थानमा रहेको बार्सिलोनाले १४ खेलबाट ३७ अंक हात पारेको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडले १३ खेलबाट ३२ अंक हात पारेको छ।



कागजपत्र |
