‘पूर्व प्रधानमन्त्री खानमाथिको घातक आक्रमणको निष्पक्ष अनुसन्धान गर्नुपर्छ’


काठमाडाैं – पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि हालै भएको गोली प्रहारको निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताएका छन् । अमेरिकी टेलिभिजन सीएनएनसँगको कुराकानीमा उनले पूर्व प्रधानमन्त्री खानमाथि भएको गोली प्रहारको निन्दा गर्दै घटनाको निष्पक्ष रूपमा छानबिन गर्नुपर्ने बताए ।

अन्तर्वार्तामा उनले भने, ‘देशभित्र उहाँका विषयमा हुने चर्चा हाम्रो आन्तरिक विषय हुन् तर उहाँमाथिको हमला देशका एकजना पूर्व प्रधानमन्त्री माथिको हमला हो, त्यसैले यसको निष्पक्ष अनुसन्धान हुनु जरुरी छ ।’ उनले घटनाको आफूले शुरूमै निन्दा गरेको र यसको स्वतन्त्र र निष्पक्ष रूपमा छानबिन हुनुपर्छ भन्ने माग गरेको पनि बताए ।

पूर्व प्रधानमन्त्री खानको रुस भ्रमणका विषयमा विवाद उत्पन्न भएको र रुस र युक्रेनको पछिल्लो द्वन्द्वका कारण खानलाई विवादास्पद बनाइएको विदेशमन्त्री जर्दारीले बताए । यसअघि नै पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले पूर्व प्रधानमन्त्री खानको हत्या प्रयासको स्वतन्त्र छानबिनका लागि एक न्यायिक समिति गठन गर्न आदेश दिइसकेका छन् ।

पूर्व प्रधानमन्त्री खानमाथि गत बिहीवार पाकिस्तानको वाजिरिस्तानमा गोली प्रहार भएको थियो । खुट्टामा गोली लागेका उनी जोखिममुक्त छन् । चिकित्सकहरूले उनको खुट्टाबाट ३ वटा गोली निकालिका थिए ।

प्रतिक्रिया