

गोधूलि पुरस्कारबाट दुर्गादेवी नेपाल सम्मानित्

काठमाडौं – विराटनगर निवासी ८५ वर्षीय दुर्गादेवी नेपाललाई आज काठमाडौंमा ‘गोधूलि पुरस्कार’ प्रदान गरियो । ताम्रपत्र सहित १० हजार रूपियाँ राशिको सो पुरस्कार ग्रहण गर्न उनी ओछ्यानबाट उठेकी थिइन् ।
गोधूलि साहित्य प्रतिष्ठानका का.वा. अध्यक्ष ललिता दोषीको सभापतित्वमा सञ्चालित कार्यक्रममा प्रा.डा.उषा ठाकुरले नेपाललाई पुरस्कार प्रदान गरे ।
दुर्गादेवी नेपाल दसौँ वर्षदेखि विभिन्न रोगले ग्रस्त छिन् । उनी आफ्नी छोरी इन्दिरा प्रसाईसँगै काठमाडौंमा बसोवास गर्दै आएकी छन् । विभिन्न रोगका कारण नेपालको शरीरमा १२ पल्ट शल्यक्रिया भइसकेको छ ।
स्कुलको ढोका नदेखे तापनि नेपालले ‘उनैको माया’ कविता सङ्ग्रह र ‘बगेको खोला’ आत्मकथा लेखेकी छन् । गोधूलि साहित्य प्रतिष्ठानका संयोजक प्रकाश समीरले सो जानकारी दिएका हुन् ।

