चुनावमा मतपेटिका साट्न दिइन्न : प्रमुख निर्वाचन आयुक्त थपलिया


काठमाडाैं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावमा मतपेटिका साटिन्छ कि भनेर आशङ्का नगर्न आग्रह गरेका छन्। आज आइतवार काठमाडाैंमा आयाेजित पूर्वप्रमुख निर्वाचन आयुक्तहरूकाे सामूहिक छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो भनाइ राखेका हुन् ।

उनले आफूले मतदानपछि पनि मतपेटिका साटिन्छ भन्ने दिव्यज्ञान कहिल्यै प्राप्त नगरेको दोहोर्‍याउँदै आउँदाे चुनावमा त्यस्तो कहीँ कतै हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे । ‘सेक्युरिटी कोड’ को आधारमा मतपत्र छापिने भएकाले मतपेटिका फेरिए पनि फेरिएको मतपेटिकामा आयोगको मतपत्र हुनै नसक्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ थियाे ।

उनले भने, ‘चुनावमा मटपेटिका साटिन्छ कि भनेर आशङ्का गर्नु पर्दैन । मतपेटिका साट्न दिइन्न । मतपत्रमा सेक्युरिटी कोड हुन्छ । मतपत्रको सुरक्षा गर्न नेपाली सेनाको टुकडी हुन्छ । कसैले कहीँ मतपेटिका साट्न सक्ने सम्भावना छैन । यस्तो खालको आशङ्का नराखिदिन म विनम्र अनुरोध गर्दछु । ’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आफूले चुनावमा मतपेटिका साटिन्छ भन्ने अनुभव कहिल्यै नगरेको पनि बताए । उनले निर्वाचन आचारसंहिताको पालना गराउन आयोग कडाइका साथ लागिपरेको बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनावलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने आयोगको अभिभाराप्रति आशङ्का नगरिदिन पनि अनुरोध गरे ।

निर्वाचन आयोगले चुनावमा झन्डै १० हजार पर्यवेक्षक परिचालन गर्ने योजना रहेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले हरेक मतदान केन्द्रमा कम्तीमा एक जना पर्यवेक्षक परिचालन गर्ने योजना रहेको पनि बताए ।

प्रतिक्रिया