
निर्वाचन बिथोल्न देशभर २३ समूह सक्रिय रहेको गृह मन्त्रालयको निष्कर्ष
विराटनगर – मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन बिथोल्नका लागि देशभर २३ वटा समूह सक्रिय रहेको निष्कर्ष गृह मन्त्रालयले निकालेको छ । विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सो कुरा बताएका हुन् ।
‘निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । तर पनि बहिष्कारदेखि लिएर चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नदिन विभिन्न २३ समूह सक्रिय छन्,’ प्रवक्ता पोखरेलले भने, ‘एउटा समूहमा ५–७ जना मात्रै पनि छन् । कुनै समूहमा धेरै संख्या पनि छ ।’
निर्वाचन विरोधी गतिविधि गर्ने समूहलाई नियन्त्रणमा लिएर उनीहरुका गतिविधि रोक्न उनले जिल्ला तहका सुरक्षा निकायले ध्यान दिने बताए । उनले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएर लागू गरिएको पोखरेलले बताए ।
निर्वाचनमा खटिने कर्मचारी, उम्मेदवार, मतदाता, निर्वाचन सामग्री सबैको सुरक्षा सरकारको प्राथमिकतामा परेको उनले बताए । निर्वाचन सुरक्षाका लागि म्यादीसहित २ लाख ९८ हजार ५ सय ८९ जना सुरक्षाकर्मी परिचालन हुने पनि उनले बताए ।



कागजपत्र |
