विश्वकै सबैभन्दा ठूलो आइफोन कारखाना रहेको चिनियाँ सहरमा लकडाउन


बेइजिङ – विश्वकै सबैभन्दा ठूलो आइफोन कारखाना रहेको झेंगझोउ सहरको एउटा जिल्लामा चिनियाँ सरकारले लकडाउन गरेको छ ।

मुलुकको कोरोना भाइरसविरुद्धको कडा सुरक्षा नियमअनुसार यो कदम उठाइएको हो ।

बुधवारदेखि लागु हुने यो लकडाउन सात दिनसम्म जारी रहने छ । यसको कारण सहरको फोक्सकोन्स कारखानामा बनाइने नयाँ आइफोन १४ को उत्पादन कार्य प्रभावित हुनसक्ने छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको कडा ‘शून्य–कोभिड’ नीतिको कारण चिनियाँ जनता र त्यहाँका व्यापार व्यवसायले अहिले संघर्ष गरिरहेका छन् ।

स्थानीय प्रशासनले बुधबार झेंगझोउ विमानस्थल आर्थिक क्षेत्रमा तत्काल सुरु हुने लकडाउन स्थानीय समयअनुसार ९ नोभेम्बरको मध्याह्न समाप्त हुने जनाएको थियो ।

विच्याट सामाजिक सञ्चार प्लेटफर्ममा राखिएको एक आधिकारिक सूचनाअनुसार सार्वजनिक यातायात सेवाहरू स्थगन गरिएका छन् भने मानिसहरूलाई घरबाटै काम गर्ने सल्लाह दिइएको छ ।

सरकारी अधिकारीहरूले नियम उल्लंघन गर्नेहरूमाथि दृढतापूर्वक कारबाही गरिने बताएका छन् ।

झेंगझोउ मध्य चीनमा रहेको हेनान प्रान्तको राजधानी हो । यसको जनसङ्ख्या करिब एक करोड रहेको छ । गत शनिबारसम्ममा स्थानीय स्तरमा १६७ जना मानिस कोरोना संक्रमित हुनपुगेको बताइएको छ । बीबीसीबाट

प्रतिक्रिया