
प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय अधिवेशन ओलीले उद्घाटन गर्ने
काठमाडौं – नेकपा (एमाले) को प्रवास संगठन ‘ प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी’ को प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको तयारी पूरा भएको छ । मञ्चको प्रचार विभागले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो ।
प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशन यही कात्तिक १९–२० गते (नोभेम्बर ५–६) काठमाडौंमा हुँदैछ । अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।
प्रवासी नेपाली मञ्चका इञ्चार्ज नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईको समेत पत्रकार सम्मेलनमा उपस्थिति थियो। उनले प्रवासी नेपालीको मुद्दाप्रति नेकपा एमाले गम्भीर रहेको बताए।
प्रचार विभाग प्रमुख प्रभुराम थापाले अधिवेशनको तयारी पूरा भएको र विश्वभरबाट प्रतिनिधिहरु काठमाडौं आउने क्रम जारी रहेको बताए ।अधिवेशनका लागि ‘सबल प्रवासीः समृद्ध नेपाल, सुखी नेपाली’भन्ने मुल नारा तय गरिएको छ ।
अधिवेशनमा प्रवासी नेपाली मञ्चको १५ सदस्यीय आयोजक कमिटी, पाँचवटै महादेश कमिटीबाट ५ जनाको दरले २५ जना र हरेक राष्ट्रिय कमिटीबाट गरी ३ सय जना प्रतिनिधिहरु सहभागी हुनेछन् । अधिवेशनमा राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछन् भने अध्यक्ष, उपाध्यक्ष, सचिव र दुईजना उपसचिवसहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने कार्यसूची रहेको छ ।



कागजपत्र |
