


पाँच वर्षसम्म नपुगेको मुसहर बस्तीमा पुग्न थाले नेता

महोत्तरी – गाउँघरमा पाँच वर्षपछि नेता देख्दा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको–३ खैरा गाउँको मुसहरबस्तीका बासिन्दा छक्क पर्न थालेका छन् । नेताहरूको बाक्लो उपस्थितिले उनीहरूलाई निर्वाचन आएको आभास हुन थालेको छ ।
‘विसं २०७४ को निर्वाचनमा आफूले भोट दिएपछि पहिलो पटक नेताहरूलाई आफ्नो गाउँघरमा देख्दा नेताहरूलाई हाम्रो भोट चाहिने बेला भएछ भन्ने थाहा भयो’’, बस्तीका अगुवा मुसहर अमृत सदाले भने, “विगत पाँच वर्षमा एक पटक पनि नेता नपुगेको अहिले दिनरात नेता पुग्न थालेका छन् । हामी चाहिने भनेकै उहाँहरूलाई चुनावको बेला त हो नि ।’
उनका अनुसार सधैं बेलुका ७÷८ बजे सुतिसक्ने मुसहरबस्ती अहिले प्रत्येक दिन राति १र२ बजेसम्म जाग्राम बस्छन् । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको समय नजाकिँदै गएसँगै अहिले देशभरिका प्रत्येक गाउँघरमा नेता, कार्यकर्ताको दौडधुप सुरु भएको छ । अघिल्लो निर्वाचनमा सो बस्तीमा पुगेका नेताहरूले आफू जितेपछि मुसहर समुदायको लागि दर्जनौँ योजना तथा कार्यक्रम ल्याउने आश्वासन बाँडेर चुनाव जिते तर ती नेताहरु मुसहरबस्तीमा एकदिन पनि पुग्न सकेका छैनन् । अहिले मुसहरबस्तीका मतदाता नेताको ‘रङ फेरियो, बस्ती फेरिएन’ भनेर दुःख व्यक्त गर्दछन् । ‘‘सबै चुनावमा लालपुर्जा बन्ने आशले नेतालाई भोट दिन्छु तर अहिलेसम्म कुनै पनि नेताले मुसहरको लालपुर्जा बनाइदिएन्’’ अगुवा मुसहर अमृतले थपे । महोत्तरीको सदरमुकाम जलेश्वर बजारबाट मात्रै एक किलोमिटर दूरीमा रहेको खैरा गाउँका मुसहर समुदाय कुनै नेतालाई भेट्न जाँदा नेताहरू बेवास्ता गर्ने गरेको, कसैको कुरा सुन्न तयार नहुने गरेको र कुनै कामकाजसमेत नगरिदिने गरेको उनीहरूको गुनासो छ ।
‘मुसहरलाई आपतविपद पर्दा पनि जनप्रतिनिधिलाई बस्तीमा बोलाउँदा आउँदैनथे । फोन गर्दा उठाउँदैनथे र समस्या सुनाउँदा पन्छिन्थे’ बस्तीका ६० वर्षीया मुसहर महिला तेतरी सदाले दुःखेसो सुनाए । निर्वाचन नजिकिएसँगै त्यही बस्तीमा अहिले नियमित नेताको भीड लाग्छ । ‘चुनावको मिति तय भएयता दिनहुँजसो नेता, कार्यकर्ता यसपटकको निर्वाचनमा मुसहरको मत पाएर आफूले जितेपछि यहाँ विकासको लहर ल्याउने आश्वासन बाँड्न सुरु गरेका छन् । मुसहर मतदातालाई अहिले नेताको भाषण सुन्न भ्याइनभ्याइ छ’ बस्तीका अर्का ७० वर्षीया महिला सिलिया सदाले बताइन् । जलेश्वर नगरपालिका–३ खैरा गाउँमा करिब ९० घर मुसहर समुदायको बस्ती छ । उनीहरुका लागि न त शौचालयको व्यवस्था छ, न त खानेपानी पाइपकै सहजता छ । सिङ्गो बस्तीमा एक थान मात्रै खानेपानी पाइप (ह्याण्डपाइप) छ भने प्रत्येक ८/१० घरमा एउटा शौचालय रहेको स्थानीयवासी सुकमरिया सदाले भावुक हुँदै बताइन् ।
उनका अनुसार नेताहरुले सो बस्तीमा विकास गरिदिने आश्वासन बाँडेर प्रत्येक चुनावमा आफूहरु नेताको भाषण सुन्न जाने गरेको र भरोसा गरेर मत पनि दिने गरेका छन् । बस्तीमा खानेपानी, नाला र सडक बनाउनुपर्ने वर्षौंदेखिको माग अहिले पनि यथावत नै छ । ‘‘सबै चुनावमा घर बनाइदिन्छु, खानेपानी पाइप, स्कुल, नालालगायतका विकासको काम गरिदिने आशले नेतालाई भोट दिन्छु’’ स्थानीय लड्डु सदाले बताए । भारतीय सीमासँग जोडिएको यो जलेश्वर नगरपालिका महोत्तरी जिल्लाको सबैभन्दा गहिरो ठाउँ हो । वर्षाको बेला घर–घरमा पानी पस्छ । मुसहर बस्ती ऐलानी जमिनमा छ । नब्बे घरधुरी रहेको यो बस्तीमा करिब एक सय ५० जनालाई नागरिकता समेत छैन भने उनीहरु पुस्तौंँदेखि यहीँ बस्दै आएको छ । बुबाको नागरिकता नभएकै कारण छोराछोरीकोसमेत जन्मदर्ता नबन्दा यस बस्तीका अधिकांश बालबालिका विद्यालयको मुखसमेत देख्न पाएका छैनन् ।

