बम विष्फोटको घटनामा मानव अधिकार आयोगको अनुगमन सुरु


काठमाडौं – कालिकोटमा भएको बम विष्फोटको घटनाको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन सुरु गरेको छ । घटना सम्बन्धमा आयोगले सम्बन्धित निकायमा पत्राचार गर्नुका साथै स्थलगत अनुगमन गर्न टोली पठाएको प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए।

कालिकोटको तिलागुफा नगरपालिका-१० मा मिति २०७९ कात्तिक १२ गते बम विष्फोटमा परी २ जना बालिकाको मृत्यु भएको थियो भने ३ जना बालबालिका घाइते भएका थिए।

यस प्रकारका घटनाहरू विगतदेखि नै भइरहेको सन्दर्भमा यसलाई संवेदनशील रूपमा लिई घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, घटनाका पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, घाइते बालबालिकाहरुको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न, आगामी दिनमा यस्ता घटना नदोहोरिने वातावरणको सुनिश्चितता गर्न तथा व्यक्तिको जीवनको अधिकार संरक्षण गर्ने गराउने कार्यमा संवेदनशील हुन आयोगले नेपाल सरकार र सम्बद्ध निकायलाई आग्रह समेत गरेको छ।

प्रतिक्रिया