

निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं – निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । नो नट अगेन अभियानविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आयोगले जारी गरेको सूचना खारेज हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन ।
उनले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध आयोगले दूषित मनसायले सूचना जारी गरेको भन्दै त्यसलाई तत्काल निस्तेज बनाउन र खोज गर्न माग गरेका छन् । नागरिकले मन परेको उम्मेद्वारलाई मत दिन अनि मन नपरेको उम्मेद्वारलाई मत नदिन अभियान चलाउन स्वतन्त्र हुने भन्दै उनले आयोगको सूचनाले नागरिकको हक कुण्ठित भएको दावी गरेका हुन् ।
आयोगको सूचना अनुसार नो नट अगेन अभियानमा संलग्न हुनेमाथि एक लाख रुपैयाँ जरिवाना, विद्युतीय कारोवार ऐन अनुसार कारबाही वा अन्य कारबाहीको चेतावनी थियो । रिट निवेदनमा त्यो सूचना निस्तेज बनाउनुपर्ने माग गरिएको छ । मंगलबार रिट निवेदनमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

