

माओवादीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि, ०८४ को चुनावमा प्रवासीलाई मतदानको व्यवस्थासम्म

काठमाडौं – नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
सोमबार सार्वजनिक गरेको घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसहितको शासकीय स्वरुप अघि सारेको माओवादीले संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेशसभा पनि प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख रहने उल्लेख गरेको छ ।
विपन्न, असहाय तथा ज्येष्ठ नागरिकका लागि सामुदायिक आवास बनाउने, ५ वर्षमा गरिबीको दर आधा घटाउने, गरिबिको रेखामुनि रहेका जनतालाई व्यवसाय गर्न ५ लाख रुपैयाँसम्मको बिउ पूँजीविना धितो २ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने पनि माओवादीले घोषणापत्रमा उल्लेख गरेको छ ।
माओवादी केन्द्रले आउँदो स्थानीय चुनावमा विदेशबाटै भोट हाल्न पाउने व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ । ‘आगामी स्थानीय निर्वाचनसम्म विदेशमा रहेका नेपालीहरुले आफू कार्यरत मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था गरिनेछ ।’ सोमबार सार्वजनिक घोषणापत्रमा लेखिएको छ,
हरेक ५ वर्षमा हुने स्थानीय तहको अर्को निर्वाचन अब २०८४ मा हुनेछ । सर्वोच्च अदालतले ०७४ मा विदेशमा बस्ने नेपालीलाई पनि मतदानको अधिकार दिन सरकारका नाममा आदेश दिएको थियो । २०३७ सालको जनमत संग्रहमा विदेशमा रहेका नेपालीले पनि भोट हालेका थिए । तर हाल विदेशमा रहेकाहरुले मतदान गर्न पाउँदैनन् । विदेशमा रहेका नेपालीले भने आफूहरुले पनि मत दिन पाउने व्यवस्था गर्न माग गर्दै आएका छन् ।

