अपडेटः कालिकोट विस्फोटमा परी अर्की बालिकाको पनि मृत्यु


काठमाडौं – कालिकोटमा भएको विष्फोटक पदार्थ पड्किँदा अर्की बालिकाको पनि मृत्यु भएको छ । विष्फोटक पदार्थ पड्किए घाइते भएकी ४ वर्षीय सरस्वती रानाको उपचारको क्रममा सुर्खेतको प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

यससँगै कालिकोटको तिलागुफा नगरपालिका– १० रानावाडामा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या २ पुगेको छ । स्थानीय ४ वर्षीया झरना थापाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्की बालिका रानाको उपचारको क्रममा मृत्यु भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।

उक्त घटनामा तीन जना गम्भीर घाइते भएको पनि जनाइएको छ । घटनामा सोही ठाउँका ७ वर्षका कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई थप उपचारको लागि हेलिकप्टरबाट सुर्खेत लगिएको छ ।

प्रतिक्रिया