

वरिष्ठ पत्रकार पाण्डेको निधन

हेटौंडा — वरिष्ठ पत्रकार कौशल पाण्डेको निधन भएको छ । ७५ वर्षीय पाण्डेको बिहीबार हेटौंडा– ४ कमलडाँडास्थित निवासमै निधन भएको हो ।
लिभर सिरोसिसका बिरामी रहेका पाण्डेको केही महिनाअघि शल्यक्रिया गरिएको थियो । परिवारका सदस्यको अनुसार केही समयदेखि उनको स्वास्थ्य अवस्था जटिल थियो । उनको पार्थिव शरीर आज शुक्रबार अन्त्येष्टि गरिने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिए ।
पाण्डे २०५८ सालमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अध्यक्ष भएका थिए । क्रान्तिकारी पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष तथा प्रेस सेन्टरका केन्द्रीय सल्लाहकार पाण्डे साहित्यकारको रुपमा पनि परिचित छन्।
हेटौंडाबाट प्रकाशन हुने प्रयास अर्धसाप्ताहिकको प्रकाशक सम्पादक रहेका उनी प्रेस काउन्सिल पुरस्कारबाट पुरस्कृत र सम्मानित भएका थिए ।

