
श्वेतभैरव नाचका लागि नवदुर्गा मन्दिरमा राष्ट्रपतिद्वारा पूजा
ललितपुर – राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान ललितपुरको गोदावरी नगरपालिकाको ठेचोस्थित नवदुर्गा मन्दिरमा श्वेत भैरवको पूजा गरेकी छिन्।
बाह्र वर्षमा एकपटक मञ्चन गराइने उक्त जात्राको अवसरमा आज बिहान ९ बजे त्यहाँ पुगी राष्ट्रपति भण्डारीले पूजा गरेको वडाध्यक्ष जगत महर्जनले जानकारी गराए ।
परम्पराअनुसार राष्ट्रप्रमुखका हैसियतमा राष्ट्रपति भण्डारी पूजाका लागि यहाँ आएका नवदुर्गा गुठीका सदस्य प्रशान्त मालीले बताए । अपरान्ह यो नृत्य मञ्चन गरिने छ ।
श्वेत भैरवको नृत्य १२ वर्षमा एक पल्ट मात्र मञ्चन गरिन्छ । यो नृत्य कुनै स्थानीयवासीले पुनःहेर्न गुठीसँग अनुरोध गरेमा सबै सामग्री तयार पार्न लगाएर मञ्चन गराउन पनि सकिन्छ । श्वेत भैरवको नृत्य निःसन्तान दम्पतीले हेरेमा सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहेको स्थानीयवासी चक्र महर्जनले बताए।
साउन १० गते घण्टाकर्ण चतुर्दशी (गठेमङ्गल) देखि सुरु भएको जात्रामा दसैँको फूलपातीका दिन सुनाकोठीको वालकुमारी मन्दिर परिसरमा कुल्पी यज्ञ आयोजना गरिएको थियो । उक्त यज्ञका लागि दक्षिण ललितपुरको तीनपाने भञ्ज्याङको जङ्गलबाट स्वसी आगँसी (बाँझको दाउरा) ल्याइएको थियो । कोजाग्रत पूर्णिमाको भोलिपल्ट ठेचोस्थित दूरीखेलमा देशभोज आयोजना गरिएकोे थियो । जात्रा आगामी फागुन–चैत्रमा साइत हेरेर सम्पन्न गरिने गुठीले जनाएको छ । जात्राका लागि गोदावरी नगरपालिकाले रु ५० लाख उपलव्ध गराएको नवदुर्गा गुठीका सदस्य मालीले जानकारी दिए ।



कागजपत्र |
