

प्रत्यक्षतर्फको डेढ करोड बढी मतपत्र छपाई सम्पन्न, समानुपातिकको ढुवानी हुँदै

काठमाडौं – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्षतर्फ) एक करोड ५५ लाख मतपत्र छापिएको छ ।
प्रदेशसभातर्फ ७८ लाख र प्रतिनिधिसभातर्फ ७७ लाख मतपत्र छापिसकिएको छ । प्रत्यक्षतर्फको मतपत्र कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको सबै छापिसकिएको निर्वाचन आयोगका सहप्रवक्ता ऋषिराम भुषालले बताए ।
प्रत्यक्षतर्फको मतपत्र कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको सबै छापिसकिएको निर्वाचन आयोगका सहप्रवक्ता ऋषिराम भुषालले बताए ।
यस्तै, लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको मात्र छाप्न बाँकी रहेको उनले बताए ।
अहिले प्रदेश १ को मतपत्र छाप्न लागिएको उनको भनाइ छ । कात्तिक २० गतेभित्र प्रत्यक्षतर्फको मतपत्र छापिसक्ने उनले बताए । २२ गतेबाट प्रत्यक्षतर्फको मतपत्र ढुवानी थालिने भुसालले बताए ।
समानुपातिक तर्फको मतपत्र भने यसअघि नै छापेर सकिएको छ । समानुपातिक तर्फको मतपत्र ढुवानी समेत अन्तिम चरणमा रहेको उनले जानकारी दिए । अब केही जिल्लामा मात्र मतपत्र ढुवानी गर्न बाँकी रहेको उनले बताए ।

