नेपालमा बढी भएको सबै विद्युत् भारतले किन्छ : विदेश सचिव क्वात्रा


काठमाडौँ- नेपालमा बढी भएको सबै विद्युत् भारतले किन्ने बताएको छ । पछिल्लो समय नेपालमा उत्पादन भएको विद्युत् भारत निर्यात हुँदै गरेको अवस्थामा भारतको विदेश मन्त्रालयका सचिव विनय मोहन क्वात्राले नेपालको विद्युत् बिक्रीका लागि बजारको समस्या नरहेको बताएका हुन् ।

भारत भ्रमणमा आएको नेपाली पत्रकारहरूको एक टोलीलाई विदेश मन्त्रालयमा स्वागत गर्दै उनले नेपालको ऊर्जा क्षेत्रमा भइरहेको विकास र नेपाल र भारतबीच भइरहेको सहकार्यको चर्चा गरेका थिए । उनले भारतमा पछिल्लो समय ऊर्जाको माग अत्यधिक वृद्धि भएको र यस्तो वृद्धि अझै केही वर्ष कायम रहने भएकोले नेपालसहित दक्षिण एसियाली देशमा उत्पादन भएको अधिक विद्युत् भारतले खरिद गर्ने बताए ।

यस्तै, एक फरक प्रसङ्गमा विदेश सचिव क्वात्राले नेपाल भारत सम्बन्ध जनस्तरसम्म कायम भएकोले दुवै देशका नागरिकको हितलाई उच्च प्राथमिकता दिइने बताए । दुई देशका सरकारबीच पनि कुनै समस्या नरहेको भन्दै उनले सदियौँदेखि कायम नेपाल-भारत सम्बन्ध सुदृढ राख्न दुवै देश तयार रहने गरेको र भविष्यमा पनि रहनु पर्ने उनको भनाई छ ।

 

प्रतिक्रिया